हिमाली क्षेत्रमा असुरक्षा बढेको भन्दै सगरमाथा आरोही सङ्घको चिन्ता

नेपालको हिमाली क्षेत्रमा असुरक्षा बढ्दै गएको र त्यसले विदेशी पर्यटकमा नकारात्मक असर परेको भन्दै सगरमाथा आरोही सङ्घले सुरक्षाका लागि प्रभावकारी कदम चाल्न सरकारसँग आग्रह गरेको छ।

Advertisement

सरकारले विसं २०८५ लाई नेपाल भ्रमण वर्षका रूपमा मनाउने घोषणा गरेकै समयमा हिमाली क्षेत्रमा देखिएको असुरक्षाप्रति आरोही मर्माहत भएको सङ्घले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

सङ्घले आफूलाई पर्न गएको समस्याप्रति सरकारसमक्ष धारणा सार्वजनिक गर्न सम्पूर्ण आरोहीहरूलाई अनुरोध समेत गरेको छ। सगरमाथा आधार शिविरभन्दा माथि कार्यरत ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिका–६ का ५७ वर्षीय आरोही दावा शेर्पाको जीवनमा आइपरेको घटनाप्रति सङ्घले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

Advertisement

दोस्रो आधार शिविरमा ‘कुक’का रूपमा कार्यरत दावा शेर्पालाई चौथो आधार शिविरमा जान दबाब दिइएको र छ दिनसम्म बेपत्ता हुँदा पनि खोजीमा लापरवाही गरिएको सङ्घको आरोप छ। सम्बन्धित ट्रेकिङ कम्पनीले उद्धारमा बेवास्ता गरेको र गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै शेर्पा परिवारको गुनासोका आधारमा उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गरिएको छ।

हिमाली क्षेत्रमा कार्यरत आरोहीको सुरक्षाप्रति सदैव चनाखो रहने प्रतिवद्धता जनाउँदै सङ्घले पीडित परिवारप्रति ऐक्यबद्धता प्रकट गरेको छ। भविष्यमा यस्ता असुरक्षित घटना दोहोरिन नदिनका लागि आवश्यक कानुनको निर्माण गरिदिन समेत सङ्घले सरकारसँग माग गरेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री