
तारकेश्वर नगरपालिका–६ पैँयुटारकी ४२ वर्षीया ईश्वरी भुजेलको हत्या अनुसन्धानका क्रममा प्रहरीले थप तीन जनालाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार घटनामा संलग्न रहेको किटानी जाहेरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो।
पक्राउ पर्नेहरूमा तारकेश्वर नगरपालिका–४ का ३६ वर्षीय विक्रम थापामगर र काठमाडौँ महानगरपालिका–१६ बालाजु बस्ने ४० वर्षीय पुजन थापा क्षेत्री छन्। उनीहरूसँगै जुम्लाको हिमा गाउँपालिका–१ घर भई हाल काठमाडौँ बस्ने २५ वर्षीया प्रतीक्षा आचार्य पनि समातिएकी छन्।
घरायसी विवादका क्रममा शुक्रबार राति श्रीमान् कुमार थापाको आक्रमणबाट गम्भीर घाइते भएकी ईश्वरीको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचारका क्रममा मृत्यु भएको थियो।
श्रीमतीमाथि धारिलो हतियार प्रहार गर्ने कुमारलाई प्रहरीले सोही राति नै नियन्त्रणमा लिइसकेको थियो।
पक्राउ परेका चारै जनामाथि थप अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले पाँच दिनको म्याद दिएको छ।
प्रहरीले उनीहरूलाई हिरासतमा राखेर घटनाको विस्तृत कारणबारे सोधपुछ गरिरहेको छ।








प्रतिक्रिया