
नेपाल र भारतमा तीनवटा नयाँ सुविधासम्पन्न होटलहरू सञ्चालन गर्ने सम्बन्धमा म्यारियट इन्टरनेसनल र सीजी कर्प ग्लोबलबीच सम्झौता भएको छ। आइतबार काठमाडौंमा आयोजित विशेष समारोहमा म्यारियट इन्टरनेसनलका अध्यक्ष डेभिड म्यारियटले यो ऐतिहासिक साझेदारीको घोषणा गरेका हुन्।
सम्झौताअनुसार काठमाडौंमा ‘द रिट्ज–कार्लटन’ र ‘द वेस्टिन’ तथा भारतको सिलिगुडीमा ‘जेडब्लु म्यारियट’ होटल सञ्चालनमा आउनेछन्। यी प्रतिष्ठित ब्रान्डहरूको विस्तारले दक्षिण एसियाली क्षेत्रमा विलासी आतिथ्य र पर्यटन प्रवर्द्धनमा नयाँ आयाम थप्ने विश्वास गरिएको छ।
सम्झौता घोषणा गर्दै अध्यक्ष डेभिड म्यारियटले यो सहकार्य दुई समूहबीचको सम्बन्धमा एउटा महत्त्वपूर्ण कोसेढुङ्गा भएको बताए। नयाँ होटलहरूले सहयोगीका लागि वृद्धिको अवसर, लगानीकर्ताका लागि प्रतिफल र पर्यटकका लागि उत्कृष्ट अनुभव प्रदान गर्ने उनले उल्लेख गरे।
नेपालमा पर्यटन पूर्वाधारको विकासका लागि म्यारियट प्रतिबद्ध रहेको भन्दै उनले विनोद चौधरी र राहुल चौधरीसँगको दीर्घकालीन साझेदारीले पर्यटन अर्थतन्त्रलाई सबल बनाउने दाबी गरे। म्यारियट इन्टरनेसनल आफ्नो स्थापनाको १०० वर्षतर्फ उन्मुख भइरहँदा यस्ता साझेदारीले पुस्तौँसम्म दिगो सम्बन्ध कायम राख्ने धारणा उनले राखे।
सीजी हस्पिटालिटीका प्रबन्ध निर्देशक राहुल चौधरीले यो साझेदारीले नेपालको पर्यटन क्षेत्रको सम्भावनामाथि म्यारियटको उच्च विश्वासलाई झल्काएको बताए। विश्वका प्रतिष्ठित ब्रान्डहरूको आगमनले नेपाललाई विश्व हस्पिटालिटी मानचित्रमा नयाँ उचाइमा पुर्याउने उनको भनाइ थियो।
भारतमा ‘फर्न’ ब्रान्डअन्तर्गत म्यारियटसँगको सहकार्यमा हाल करिब १ सय ५० होटलहरू सञ्चालनमा रहेको र सन् २०३१ सम्ममा सो सङ्ख्या ५ सय पुर्याउने लक्ष्य रहेको उनले जानकारी दिए। नेपालका परियोजनालाई सफल बनाउन सिजी डेभलपर्ससँगै आईजी ग्रुप, आईसीजी ग्रुप, शर्मा कन्स्ट्रक्सन, एमएलई ग्रुप र एमएलए ग्रुपले साझेदारी गरेका छन्।
चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले विश्वप्रसिद्ध होटल सञ्जालसँगको सहकार्य नेपालको समृद्धिका लागि एउटा ऐतिहासिक ‘स्टेटमेन्ट’ भएको बताए। आफ्नो २८ वर्ष लामो आतिथ्य क्षेत्रको यात्रा स्मरण गर्दै उनले सन् १९९८ मा नेपालमा होटल सुरु गर्ने प्रयास प्राविधिक कारणले सफल हुन नसकेको उल्लेख गरे।
दुई वर्षअघि सिंगापुरमा म्यारियटको नेतृत्वसँग भएको भेटवार्ताले यो साझेदारीलाई मूर्तरूप दिएको उनले जानकारी दिए। म्यारियटको ९ हजार ९ सयभन्दा बढी होटल र १.७ मिलियन कोठाहरू सहितको विश्वव्यापी सञ्जालसँगको सहकार्य दक्षिण एसियाकै पर्यटनका लागि महत्त्वपूर्ण मानिएको छ।
रित्ज–कार्लटनको शिलान्यास नयाँ सरकार गठनकै दिन हुनु र छोटो समयमै म्यारियटका अध्यक्ष नेपाल आउनुलाई चौधरीले सुखद संयोगका रूपमा लिएका छन्। यी प्रतिष्ठित ब्रान्डहरूको प्रवेशले नेपाल अब उच्चस्तरको आतिथ्य सेवा प्रदान गर्न पूर्ण रूपमा तयार छ भन्ने प्रमाणित गर्ने उनले बताए।
नेपाल सरकारले सन् २०२७ लाई वेलनेस पर्यटन वर्षका रूपमा मनाउने तयारी गरिरहेको सन्दर्भमा यो साझेदारीले पर्यटन पूर्वाधार निर्माणमा थप बल पुग्ने देखिन्छ। सरकारको विकासको मार्गचित्रमा निजी क्षेत्रको सधैँ साथ रहने प्रतिबद्धता समेत सो अवसरमा व्यक्त गरियो।








प्रतिक्रिया