असार २५ भित्रै कमला पुल सञ्चालन गर्न मन्त्री लम्सालको निर्देशन

हुलाकी राजमार्ग अन्तर्गतको कमला नदीको पुल आगामी असार २५ गतेभित्रै सञ्चालनमा ल्याउन सहरी विकासमन्त्री सुनिल लम्सालले निर्देशन दिएका छन्।

Advertisement

शनिबार पुलको स्थलगत अनुगमन गर्दै उनले निर्माण कम्पनीलाई भासिएको स्ल्याबको काम पूर्णरूपमा सम्पन्न गरी महिना दिनभित्रै यातायात सुचारु गर्न भनेका हुन्।

मन्त्री लम्सालले पुल निर्माणका लागि आवश्यक पर्ने बजेटको व्यवस्थापन गर्न सरकार तयार रहेकाले बजेटको अभावमा काम नरोकिने स्पष्ट पारे। निरीक्षण टोलीमा सिरहा क्षेत्र नम्बर १ का सांसद बब्लु गुप्ता, क्षेत्र नम्बर २ का सांसद शिवशङ्कर यादव, हुलाकी राजमार्ग निर्देशनालयका योजना प्रमुख कृष्णकुमार महतो र सिरहाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल सहभागी थिए।

स्थानीयमा पलायो आशा

Advertisement

सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमा कमला पुलको पुनःनिर्माणका लागि आवश्यक बजेट विनियोजन नगरेको भन्दै स्थानीय बासिन्दाले गुनासो पोख्दै आएका थिए। पुल समयमै नबन्दा यस क्षेत्रका जनताले वर्षौंदेखि आवतजावतमा ठूलो सास्ती भोग्दै आएका छन्।

स्थानीय युवा तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) औरही गाउँपालिकाका सभापति सन्तोष यादवले मन्त्रीले आर्थिक समस्या हुन नदिने प्रतिबद्धता जनाएकाले स्थानीयमा केही आशा जागेको बताए। उनले यो पुल निर्माण भएमा वर्षौंदेखिको आवतजावतको समस्या सधैँका लागि अन्त्य हुने उल्लेख गरे।

१५ वर्षदेखि अधुरै

विक्रम संवत २०६८ सालमा तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने सम्झौता भए पनि यो पुलको काम पटकपटक म्याद थपेर विक्रम संवत २०७८ असारमा मात्र अन्तिम चरणमा पुगेको थियो। तर, निर्माण सकिनै लाग्दा सोही वर्षको असारमा आएको बाढीले दुई वटा पिलर भासिएर चार वटा स्ल्याबमा गम्भीर क्षति पुर्‍याएपछि पुल सञ्चालनमा आउन सकेन।

पुल निर्माणको जिम्मा पाएको निर्माण कम्पनी लुम्बिनी बिल्डर्सले भने सरकारले तोकेको समय सीमा अर्थात् आगामी असार मसान्तभित्रै काम सम्पन्न गर्ने लक्ष्यका साथ आफूहरू लागिरहेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री