नेप्सेमा साताभर मन्दी: ७४ अर्बभन्दा बढीले घट्यो बजार पूँजीकरण

सेयर बजारमा यो साता ओरालो यात्रा तय गर्दै नेप्से परिसूचक करिब १ प्रतिशतले घटेर बन्द भएको छ। अघिल्लो साता २ हजार ७ सय ८२ दशमलव १० विन्दुमा बन्द भएको नेप्से परिसूचक यो साता शून्य दशमलव ९६ प्रतिशत अर्थात् २६ दशमलव ६९ अंकले घटेको छ।

Advertisement

साताको अन्तिम कारोबार दिन बजार २ हजार ७ सय ५५ दशमलव ४१ विन्दुमा ओर्लिएर अडिएको छ। यो साता पाँच कारोबार दिन नै बजार खुला भएको थियो।

खुलेका दिनमध्ये दुई कारोबार दिन नेप्सेमा सुधार देखिएको थियो। बाँकी तीन कारोबार दिन भने बजार घटेर बन्द भएको थियो।

सूचकसँगै कारोबार रकम पनि सुस्त

यो साता सेन्सेटिभ इण्डेक्स ३ दशमलव ५२ अंकले ओरालो लागेको छ। यस्तै फ्लोट इण्डेक्स १ दशमलव ०९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स पनि १ दशमलव ०९ अंकले घटेको छ।

Advertisement

नेप्से परिसूचकसँगै यो साता कारोबार रकममा पनि गिरावट आएको छ। अघिल्लो साता दैनिक औसतमा ५ अर्ब ६२ करोड रुपैयाँको सेयर खरिदबिक्री भएकोमा यो साता दैनिक औसत ५ अर्ब ३८ करोड रुपैयाँको मात्र कारोबार भयो।

अघिल्लो साताको तुलनामा यो साताको दैनिक औसत कारोबार रकम ४ दशमलव १७ प्रतिशतले कम हो। त्यस्तै दैनिक औसत सेयर संख्या ११ दशमलव २३ प्रतिशत र दैनिक औसत कारोबार संख्या ६ दशमलव ६० प्रतिशतले घटेको छ।

बजारमा आएको मन्दीका कारण कुल बजार पूँजीकरण पनि करिब १ प्रतिशतले खुम्चिएको छ। अघिल्लो साता ४७ खर्ब ४६ अर्ब रुपैयाँ रहेको कुल बजार पूँजीकरण यो साता ४५ अर्ब रुपैयाँले घटेर ४७ खर्ब १ अर्ब रुपैयाँमा सीमित भएको छ।

वित्त र बीमामा आकर्षण, व्यापार उपसमूहमा पहिरो

बजारका १३ उपसमूहमध्ये यो साता ५ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ८ उपसमूहको परिसूचक घटेको छ। वित्त उपसमूहको परिसूचक सर्वाधिक ६ दशमलव ९१ प्रतिशतले बढेको देखिन्छ।

अघिल्लो साता २ हजार ३ सय ८५ दशमलव ३५ विन्दुमा बन्द भएको यो उपसमूह १६४ दशमलव ९२ अंकले बढेर २ हजार ५ सय ५० दशमलव २७ विन्दुमा पुगेको छ। अंकका आधारमा भने यो साता निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ५ सय ११ दशमलव ३८ अंकले उकालो लागेको छ।

यता व्यापार उपसमूहको परिसूचकमा भने यो साता सर्वाधिक ६ दशमलव ९८ प्रतिशतको गिरावट आयो। अघिल्लो साता ३ हजार ८ सय २ दशमलव ९७ विन्दुमा बन्द भएको सो उपसमूह २ सय ६५ दशमलव ३१ अंकले घटेर ३ हजार ५ सय ३७ दशमलव ६६ विन्दुमा झरेको छ।

अंकका आधारमा यो साता उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक ३ सय ८ दशमलव १७ अंकले ओरालो लागेको छ।

नयाँ सेयर सूचीकरण र कम्पनीहरूको अवस्था

यो साता दोस्रो बजारमा तीन कम्पनीको कुल ७ करोड ७१ लाख ६० हजार कित्ता सेयर सूचीकृत भएको छ। एनएमबि बैंक र माछापुच्छ्रे बैंकको अविमोच्य असञ्चिति सेयर र सोपान फर्मास्युटिकल्सको आईपीओ नेप्सेमा सूचीकृत भएका हुन्।

कम्पनीगत रूपमा यो साता कालिञ्चोक हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक १०१ दशमलव ०६ प्रतिशतले वृद्धि भएको छ। अघिल्लो साता ३ सय ७६ रुपैयाँ ८० पैसामा अन्तिम कारोबार भएको यस कम्पनीको सेयर यो साता ७ सय ५७ रुपैयाँ ६० पैसा पुगेको छ।

यस्तै सेन्ट्रल फाइनान्सको सेयरमूल्य करिब २५ प्रतिशत र नेपाल पुनर्बीमा कम्पनीको सेयरमूल्य करिब साढे १७ प्रतिशतले बढेको छ। बुंगल हाइड्रोको सेयरमूल्य भने यो साता सर्वाधिक १६ दशमलव ७५ प्रतिशतले घटेको छ।

रिज लाइन इनर्जीको सेयरमूल्य साढे १३ प्रतिशतभन्दा बढी र होटल फरेष्ट ईनको सेयरमूल्य करिब साढे १० प्रतिशतले ओरालो लागेको छ। फ्लोरशिट विश्लेषण गर्दा यो साता ग्लोबल आइएमई बैंक, कालिञ्चोक हाइड्रोपावर र चिलिमे हाइड्रोपावर कम्पनी बढी खरिद गरिएका स्टकको शीर्ष स्थानमा रहे।

अप्पर साङ्गे हाइड्रोपावर, विन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र त्रिशुली जलविद्युत कम्पनी लगायतका स्टकहरू भने बढी बिक्री गरिएका स्टकको सूचीमा परेका छन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री