
दाङको तुलसीपुर उपमहानगरपालिकालाई क्षयरोगमुक्त बनाउनका लागि ‘एआई एक्सरे’ मेसिनको प्रयोग गरी सङ्क्रमित पहिचान गर्ने कार्य तीव्र पारिएको छ । उपमहानगरका १९ वटा वडामध्ये १७ वटा वडामा एआई प्रविधिबाट क्षयरोगका बिरामी खोजिएको फोकल पर्सन शिवप्रसाद तिवारीले बताए ।
तुलसीपुरको २ र १३ नम्बर वडाबाहेक अन्य सबै क्षेत्रमा विभिन्न शिविर सञ्चालन गरी उक्त आधुनिक मेसिन प्रयोग गरेर सङ्क्रमित खोज्ने गरिएको उनले जानकारी दिए । पहिले साधारण एक्सरेबाट क्षयरोग पहिचान गर्ने गरिएकामा अहिले एआई एक्सरेको प्रयोगले चिकित्सकलाई रोग पहिचान गराउन निकै सहज बनाएको तिवारीको भनाइ छ ।
आधुनिक प्रविधिपछि जीनएक्सपर्ट परीक्षण
एआई एक्सरेले साधारण माइक्रोस्कपी गर्दा समेत नदेखिएको क्षयरोगको सङ्क्रमण सहजै देखाउने गरेको तुलसीपुर उपमहानगरपालिकाका जनस्वास्थ्य प्रबद्र्धन शाखा प्रमुख ओमपी न्यौपानेले बताए । एआई एक्सरेमा सङ्क्रमण देखिएपछि त्यसको अन्तिम पुष्टीका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा रहेको ‘जीनएक्सपर्ट’ मेसिनमा पुनः परीक्षण गरिने उनले जानकारी दिए ।
जीनएक्सपर्ट मेसिनमा परीक्षण गर्दा नतिजा पोजेटिभ देखिएमा बिरामीको उपचार तुरुन्तै सुरु गरिने स्वास्थ्य शाखाले जनाएको छ । पहिचान भएका सङ्क्रमितलाई ‘डटस्’ विधिअन्तर्गत प्रत्येक दिन निगरानी गरेर ६ महिनासम्म प्रत्यक्ष स्वास्थ्यकर्मीको रोहबरमा औषधि खुवाउने गरिएको छ ।
९७ प्रतिशत सङ्क्रमित उपचारको दायरामा
तुलसीपुर उपमहानगरपालिकालाई क्षयरोगमुक्त पालिका बनाउने अभियानअन्तर्गत हाल यो कार्यक्रम दोस्रो वर्षमा सञ्चालन भइरहेको छ । आर्थिक वर्ष २०८१/८२ देखि तुलसीपुरमा सुरु भएको यो अभियानमार्फत हालसम्म ९७ प्रतिशत सङ्क्रमितलाई उपचारको दायरामा ल्याइसकिएको शाखा प्रमुख न्यौपानेले बताए ।
चालु आर्थिक वर्षको जेठ १८ गतेसम्म तुलसीपुरमा ३ सय ५५ जना सङ्क्रमित पहिचान भइसकेका छन् । जसमा १५ वर्ष मुनिका ३४ जना र १५ वर्ष माथिका ३ सय २१ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
प्रतिलाख २ सय २७ मा सङ्क्रमण
तुलसीपुरमा प्रति १ लाख जनसङ्ख्यामा २ सय २७ जनामा क्षयरोग सङ्क्रमण देखिने गरेको तथ्याङ्क छ । सङ्क्रमितको सहज उपचार र पहिचानका लागि हाल उपमहानगरभित्र १३ वटा डट्स केन्द्र र ४ स्थानमा टिभी माइक्रोस्कपी सेवा सञ्चालनमा ल्याइएको छ ।








प्रतिक्रिया