
बाँकेको खजुरा गाउँपालिकाले विकास योजनाको काम समयमै सम्पन्न नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द गरेको छ। सम्झौता अवधि सकिएर लामो समय बितिसक्दा पनि काम पूरा गर्न चासो नदेखाएपछि पालिकाले कडा कदम चालेको हो।
निर्माण कार्यको प्रगति सन्तोषजनक नभएको र सुधारका कुनै संकेत नदेखिएकाले पाँच योजनाको ठेक्का रद्द गरिएको खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलबहादुर पौडेलले बताए। गाउँपालिकाका विभिन्न वडामा सञ्चालित योजनाका लागि अमन कन्स्ट्रक्सन, गुलरिया–५, बर्दियासँग गरिएका सबै सम्झौता तोडिएका हुन्।
अमन कन्स्ट्रक्सनले २०७७ फागुन १२ गते खजुरा गाउँपालिका–४ एफगाउँमा करिब ५०० मिटर सडक कालोपत्र गर्ने ठेक्का लिएको थियो। कम्पनीले २०७८ जेठ ३० गतेभित्र निर्माण कार्य सम्पन्न गर्ने सम्झौता गरे पनि हालसम्म काम पूरा गरेको छैन।
दुई भागमा अलग–अलग ठेक्का आह्वान गरिएको उक्त योजनाअन्तर्गत ग्राभेल हाल्ने र गिट्टी बिछ्याउने काम मात्र भएको छ। कालोपत्र हुन नसक्दा सो सडक पुनः जीर्ण बनेर स्थानीयलाई सास्ती भइरहेको छ।
कम्पनीले ठेक्का पाएको एनआइसी बैङ्कदेखि मनकामना जाने सडक तथा नाली निर्माण योजना पनि वर्षौंदेखि अलपत्र छ। गोपालसिंह आलेको घरदेखि लालबहादुर रजालीको घरसम्मको बाटो स्तरोन्नति गर्ने काम निर्माण व्यवसायीले बीचमै छाडेका छन्।
यसैगरी बिगाउँ ९० नम्बरदेखि १०५ नम्बरसम्मको बाटो स्तरोन्नतिका योजना पनि अधुरै रहेको पालिकाले जनाएको छ। यी सबै पाँचवटै योजना समयमै नसकिएपछि पालिकाले सम्झौता अन्त्य गर्ने निर्णयमा पुगेको हो।
काम सम्पन्नतर्फ निर्माण व्यवसायी अग्रसर नभएकाले सम्झौता रद्द गरी कालोसूचीमा किन नराख्ने भन्दै पालिकाले गत मङ्सिर २ गते सार्वजनिक सूचना जारी गरेको पौडेलले बताए। व्यवसायीलाई सच्चिनका लागि सार्वजनिक रूपमै मौका दिइएको थियो।
सार्वजनिक सूचना जारी भएपछिको तोकिएको अवधिमा पनि सम्झौताबमोजिम निर्माण कार्य अगाडि बढाउने विश्वसनीय आधार पेस गर्न निर्माण कम्पनी असमर्थ भयो। त्यसपछि अमन कन्स्ट्रक्सनसँगको ठेक्का सम्झौता अन्त्य गरिएको प्रशासकीय अधिकृत पौडेलले बताए।








प्रतिक्रिया