पहाडी र हिमाली क्षेत्रमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

मुलुकको पश्चिमी क्षेत्र आसपास उपल्लो वायुमण्डलमा न्यून चापीय प्रणाली र स्थानीय वायु सक्रिय भएको छ। यसले गर्दा देशका हिमाली तथा पहाडी भागमा वर्षा हुने तथा तराईका केही क्षेत्रमा गर्मी बढ्ने सम्भावना देखिएको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भागमा साधारणतया बदली रहेको छ। बाँकी पहाडी भागमा आंशिक बदली र तराईका अधिकांश क्षेत्रमा मुख्यतया मौसम सफा रहेको छ।

Advertisement

कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भागका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ। बिहीबार दिउँसो देशका हिमाली तथा पहाडी भागमा साधारणतया बदली रहने तथा तराई क्षेत्रमा आंशिक बदली रहने महाशाखाले जनाएको छ।

हिमाली तथा पहाडी भागका केही तथा मधेस र कोशी प्रदेशका तराईका एकदुई स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा वा हिमपातको सम्भावना छ। देशका हिमाली तथा पहाडी भागका केही तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका एकदुई स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा वा हिमपात हुन सक्ने महाशाखाले जनाएकाे छ।

मधेस, कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा तापक्रम बढ्ने अनुमान गरिएको छ। महाशाखाले मधेस तथा कोशी प्रदेशका तराई क्षेत्रमा तापक्रम बढ्ने सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ।

बिहीबार राति देशका हिमाली भागमा साधारणतया बदली रहने तथा पहाडी भाग एवं मधेस र कोशी प्रदेशको तराई क्षेत्रमा आंशिक बदली रहने छ। बाँकी तराई क्षेत्रमा मुख्यतया मौसम सफा रहने महाशाखाले जनाएको छ ।

Advertisement

कोशी र मधेस प्रदेशसहित बागमती प्रदेशका हिमाली तथा पहाडी भाग तथा गण्डकी र कर्णाली प्रदेशका हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना छ। मौसमसम्बन्धी पछिल्ला सूचनामा अद्यावधिक रहन महाशाखाले सम्बद्ध सबैसँग आग्रह गरेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री