
नेपाल मेडिकल काउन्सिलले लिएको चिकित्सक ‘लाइसेन्स’ परीक्षामा चितवन मेडिकल कलेज (सिएमसी) उत्कृष्ट भएको छ। त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भरतपुरस्थित सिएमसीले ९३.१० प्रतिशत विद्यार्थी उत्तीर्ण गराएर यस वर्ष सर्वाेत्कृष्ट बन्न सफल भएको हो।
जेठ १२ देखि १५ गतेसम्म काउन्सिलले सञ्चालन गरेको परीक्षामा सिएमसी कलेजबाट एमबिबिएस तह उत्तीर्ण गरेका ५८ विद्यार्थीमध्ये ५४ जना सफल भएका हुन्। काउन्सिलका अनुसार समग्रमा यस वर्ष एमबिबिएसतर्फ ६३.५० प्रतिशत र बिडिएसतर्फ ८१.५२ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।
परीक्षामा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ९२.२१ प्रतिशत अर्थात् ७७ मध्ये ७१ विद्यार्थी उत्तीर्ण गराई दोस्रो भएको छ। नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान ८९.७७ प्रतिशत अर्थात् ८८ मध्ये ७९ जना उत्तीर्ण गराई तेस्रो हुन सफल भयो।
विदेशमा अध्ययन गरेका विद्यार्थीको तुलनामा नेपालकै मेडिकल कलेजको नतिजा राम्रो देखिएको छ। भारतमा पढेका ४२.३१ प्रतिशत, बङ्गलादेशका ४१.१४ प्रतिशत, चीनका १५.०४ प्रतिशत र फिलिपिन्समा पढेका २८.५७ प्रतिशत विद्यार्थी मात्र उत्तीर्ण भएका छन् भने इजिप्ट र रसियामा पढेकाहरू अनुत्तीर्ण भएका छन्।
कुशल व्यवस्थापनसहित सिएमसीमा कार्यरत शैक्षिक तथा प्रशासनिक जनशक्तिको खटाइ र विद्यार्थीको मेहनतका कारण सर्वाेत्कृष्ट हुन सफल भएको कलेजका उपनिर्देशक अरुण कोइरालाले बताए। आउँदा दिनमा शतप्रतिशत नतिजा प्राप्त गर्ने लक्ष्यका साथ अघि बढ्ने र स्वदेश तथा विदेशका प्रतिभावान् विद्यार्थीहरूको पहिलो रोजाइमा सिएमसी पर्नेगरी टिम परिचालित हुने उनले स्पष्ट पारे।
शैक्षिक गुणस्तरका पक्षमा कुनै पनि सम्झौता नगरी अघि बढेकाले उत्कृष्ट नतिजा ल्याउन सफल भएको कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्राडा हरिश्चन्द्र न्यौपानेले बताए। प्रयोगात्मक कक्षालाई उच्च प्राथमिकता दिएकाले पछिल्ला वर्षहरूमा अब्बल विद्यार्थीको रोजाइमा सिएमसी कलेज परेको उनको भनाइ छ।
सो कलेजमा स्नातक र स्नातकोत्तर तहका विभिन्न प्राविधिक तथा चिकित्सा विधाको पढाइ हुने गरेको छ। एमबिबिएस, बिडिएस, नर्सिङ, पब्लिक हेल्थ, फार्मेसीसहित विशिष्टीकृततर्फ एमडी र एमसिएचको पढाइ हुने सो कलेजले जनाएको छ।
विभिन्न विधा र तहमा गरी हाल सो क्याम्पसमा १ हजार ४ सय विद्यार्थी अध्ययनरत रहेका क्याम्पस प्रशासनले जनाएको छ। नेपाल बाहिर पढेका विद्यार्थीले सात आठ पटक परीक्षा दिने गरेका तर नेपालका कलेजमा पढेकाले बढीमा दुई पटकमै परीक्षा उत्तीर्ण गरेको यथार्थले नेपालको पढाइ सन्तोषजनक रहेको पुष्टि गर्छ।








प्रतिक्रिया