५५ रुपैयाँ टिकट खर्चमा घरमै पासपोर्ट

जिल्ला प्रशासन कार्यालय रौतहटले सेवाग्राहीको राहदानी जिल्ला हुलाक कार्यालयमार्फत घरघरमै पुर्‍याउने सेवा सुरु गरेको छ। सरकारी सेवालाई नागरिकको घरदैलोमै पुर्‍याउने उद्देश्यले यो नयाँ अभियानको थालनी गरिएको हो।

जिल्ला प्रशासन कार्यालय रौतहट र जिल्ला हुलाक कार्यालयबीच गत वैशाख २४ गते यससम्बन्धी सम्झौता भएको थियो। सम्झौतापछि पहिलो चरणमा २१ जना सेवाग्राहीको राहदानी सम्बन्धित व्यक्तिको घरमै पुगेर हस्तान्तरण गर्दै अभियान सुरु गरिएको छ।

प्रजिअ आफैं पुगे सेवाग्राहीको घरमा

Advertisement

प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले बुधबार गौर नगरपालिका–२ महादेवपट्टिस्थित सेवाग्राही राजु राम र विकास पासवानको घरमा पुगेर राहदानी हस्तान्तरण गरे। राहदानी हस्तान्तरण गर्दै प्रजिअ भुसालले सरकारको सेवा जनताको घरदैलोमै पुर्‍याउने उद्देश्यअनुसार यो अभियान सुरु गरिएको बताए।

राहदानी वितरणमा हुलाक सेवाको प्रयोग गरिएपछि सेवाग्राहीलाई कार्यालय धाउनुपर्ने झन्झट कम हुने भुसालको भनाइ छ। यसले नागरिकको समय र खर्च बचत हुने भन्दै अब सेवाग्राहीले घरमै पासपोर्ट प्राप्त गर्न सक्ने व्यवस्था लागू गरिएको उनले बताए।

५५ रुपैयाँ टिकट खर्चमा घरमै पासपोर्ट

घरमै राहदानी प्राप्त गर्न चाहने सेवाग्राहीले हुलाक शुल्कस्वरूप ५५ रुपैयाँ बराबरको टिकट खर्च व्यहोर्नुपर्ने व्यवस्था गरिएको छ। जिल्ला हुलाक कार्यालयका प्रमुख देवनाथ यादवले सो शुल्कबारे जानकारी दिएका हुन्।

कार्यालयमा पुराना तथा वितरण हुन बाँकी रहेका पासपोर्टहरूसमेत सम्बन्धित स्थानीय तहसँग समन्वय गरी हुलाकमार्फत नागरिकको घरमै पुर्‍याउने तयारी भइरहेको छ। ग्रामीण क्षेत्रका नागरिक, ज्येष्ठ नागरिक, महिला, विद्यार्थी तथा वैदेशिक रोजगारीका लागि तयारीमा रहेका सेवाग्राहीका लागि यो कार्य निकै उपयोगी हुने कार्यालय प्रमुख यादवले बताए।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री