बिहीबार, १९ असार २०८२

भिजिट भिसा प्रकरणः छानबिन समिति बनेपनि दुई दलद्वारा सदन बहिस्कार

समयपोष्ट २०८२ असार १० गते १२:४६

Advertisement

भिजिट भिसा प्रकरणमा सरकारले उच्चस्तरीय छानबिन समिति गठन गरे पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले असन्तुष्टि जनाउँदै मंगलबारको प्रतिनिधिसभा बैठक बहिस्कार गरेका छन्। दुवै दलले समितिको नेतृत्व र कार्यक्षमतामाथि प्रश्न उठाउँदै यो समितिले सत्यतथ्य बाहिर ल्याउन नसक्ने दाबी गरेका छन्।

रास्वपा र राप्रपाले लामो समयदेखि गृहमन्त्री रमेश लेखकको राजीनामा र निष्पक्ष छानबिनको माग गर्दै आएका छन्। सोमबारको मन्त्रिपरिषद् बैठकले पूर्वमुख्यसचिव शंकरदास बैरागीको संयोजकत्वमा ७ सदस्यीय छानबिन समिति गठन गर्ने निर्णय गरेको थियो। तर, दुई दलले समितिको संरचना र नेतृत्वप्रति अविश्वास व्यक्त गर्दै विरोधलाई निरन्तरता दिएका छन्।

समितिमा अर्थ मन्त्रालयका सहसचिव तिर्थराज चिलवाल, कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालयका सहसचिव अरुणा जोशी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव रामकृष्ण लामिछाने, परराष्ट्र मन्त्रालयका सहसचिव मणिरत्न शर्मा र श्रम तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव प्रदीप कोइराला सदस्य छन्। गृह मन्त्रालयका सहसचिव आनन्द काफ्ले सदस्यसचिव रहेका छन्।

गृहमन्त्री लेखकले प्रतिनिधिसभामा जानकारी गराएअनुसार समितिलाई नौ बुँदे कार्यादेश दिइएको छ। समितिले अल्पकालीन र दीर्घकालीन सुधार, कानुनी र संस्थागत व्यवस्थापनका लागि सुझाव दिने जिम्मेवारी पाएको छ। यद्यपि, दुई दलले समितिको प्रभावकारितामाथि शंका व्यक्त गर्दै गृहमन्त्रीको राजीनामाको मागलाई जोड दिइरहेका छन्।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री