नगर प्रहरी प्रमुख राजु पाण्डेलाई पुनः जिम्मेवारीमा फर्कन अदालतको आदेश
उच्च अदालत पाटनले काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजु पाण्डेलाई पुनः आफ्नै जिम्मेवारीमा फर्कन दिने आदेश दिएको छ।
न्यायाधीश ऋषिराज भण्डारी र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले दिएको अन्तरिम आदेशमा महानगरपालिकाले जेठ २० गते गरेको निलम्बन कार्यान्वयन नगर्न भनिएको छ।
आदेशमा भनिएको छ, “प्रस्तुत निवेदनको टुंगो नलागेसम्म यी निवेदकलाई तत्काल निलम्बन गर्नुपर्नेसम्मको अवस्था देखिएन। अतः निवेदनको टुंगो नलागेसम्म निलम्बन पत्र कार्यान्वयन नगरी यथास्थितिमा राखी निवेदकलाई पदमा रहेर काम गर्न दिनु उचित देखिन्छ।”
यद्यपि, अदालतले पाण्डेलाई निलम्बन गर्ने महानगरको निर्णय खारेज भने गरेको छैन।
राजु पाण्डे काठमाडौं महानगर प्रहरी बलमा वरिष्ठ नगर प्रहरी उपरीक्षकका रूपमा कार्यरत छन्। आदेशमा उल्लेख भएअनुसार, महानगरपालिकाको सुरक्षाको समग्र जिम्मेवारी उनीसँग जोडिएको छ।
महानगर प्रहरी बलको परिचालन, निर्देशन र रेखदेख गर्ने अधिकारी प्रमुख प्रशासकीय अधिकृत भए पनि पाण्डेले उक्त जिम्मेवारी पालना गर्न इन्कार गरेको कुनै प्रमाण नभेटिएको अदालतले उल्लेख गरेको छ।
प्रतिक्रिया