नेपालमा पहिलो पटक मस्तिष्क मृत्यु भएका व्यक्तिबाट मिर्गौला र कलेजो प्रत्यारोपणमा ऐतिहासिक सफलता
भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले नेपालमा पहिलो पटक मस्तिष्क मृत्यु भएका व्यक्तिबाट प्राप्त मिर्गौला र कलेजो एकै व्यक्तिमा सफलतापूर्वक प्रत्यारोपण गरेको छ। प्रत्यारोपण गरेको १९ औं दिनमा बिरामी पूर्ण स्वास्थ्यलाभ गरी डिस्चार्ज भएका छन्।
प्रत्यारोपणको नेतृत्व शल्य चिकित्सक डा. पुकार चन्द्र श्रेष्ठले गरेका थिए। डा. श्रेष्ठले नेतृत्व गरेको टोलीमा नेफ्रोलोजी विभाग प्रमुख डा. कल्पना कुमारी श्रेष्ठ, युरोलोजी विभाग प्रमुख डा. दिपेश श्रेष्ठ, एनेस्थेसिया तथा क्रिटिकल केयर विभाग प्रमुख डा. आरती राई, प्याथोलोजी विभाग प्रमुख डा. सबिना श्रेष्ठ, रेडियोलोजी विभाग प्रमुख डा. कृष्ण बुढाथोकी, कार्डियोलोजी विभाग प्रमुख डा. प्रवेश न्यौपाने र नर्सिङ्ग निर्देशक पुजा कोइराला सहभागी थिए। साथै, विभिन्न अस्पतालबाट प्रत्यारोपण सर्जन डा. रोशन घिमिरे, सघन उपचार विशेषज्ञ डा. सुवास आचार्य, इन्टरभेन्सन रेडियोलोजिस्ट डा. दिनेश चटौत र कलेजो प्रत्यारोपण फिजिसियन डा. शेखर पौड्यालले सहयोग गरेका थिए।
डा. पुकारले केन्द्रले प्रदान गरेको सेवा विश्वस्तरीय भएको र बिरामी तथा परिवारले पूर्ण सन्तुष्टि व्यक्त गरेको बताए। उनले अंग फेल भएका नेपालीहरूलाई स्वदेशमै गुणस्तरीय सेवा उपलब्ध भएकोमा आश्वस्त हुन आग्रह गरे।
प्रत्यारोपित बिरामी र उनका परिवारले न्यूनतम शुल्कमा यस्तो जटिल शल्यक्रिया नेपालमै सम्भव भएकोमा आश्चर्य र खुसी व्यक्त गरे। उनीहरूले यो अनुभव सपना जस्तै भएको बताए।
यो ऐतिहासिक कार्यमा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल र मन्त्रालयको पूर्ण सहयोग प्राप्त भएको थियो। साथै, १८ वर्षीय मस्तिष्क मृत व्यक्तिको परिवार र काठमाडौं मेडिकल कलेजलाई अंगदानका लागि विशेष धन्यवाद दिइएको छ।
यो सफलताले नेपालको स्वास्थ्य क्षेत्रमा नयाँ आयाम थपेको छ र स्वदेशमै जटिल प्रत्यारोपण सम्भव भएको सन्देश विश्वभर फैलाएको छ।
प्रतिक्रिया