शुक्रबार, १६ चैत २०८०

रामपुरमा इञ्जिनियरिङ कलेज सञ्चालन हुने

समयपोष्ट २०७५ असार ८ गते ७:३९

त्रिभुवन विश्वविद्यालय (त्रिविवि) र भरतपुर महानगरपालिकाबीच सहकार्य गरेर रामपुरमा इन्जिनियरिङ कलेज सञ्चालन गर्ने तयारी थालिएको छ ।

Advertisement

त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा डा तीर्थ खनियाले त्रिविको कृषि क्याम्पस सञ्चालन गरिएको स्थान कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयु) लाई दिएपछि बाँकी रहने करीब ४० बिगाहा जग्गामा इन्जिनियरिङ कलेज सञ्चालन गर्ने तयारीमा रहेको बताउनुभयो ।

उहाँका अनुसार कलेज सञ्चालनका लागि बजेट खोजी भइरहेको छ । जसका लागि महानगरपालिकासँग सहकार्य गरेर क्याम्पस स्थापना गर्न सकिने उहाँले बताउनुभयो ।

त्रिविविको कृषि क्याम्पस सञ्चालन गरिएको रामपुरमा एएफयुले कलेज सञ्चालन गरेपछि दुई विश्वविद्यालयबीचमा ठूलो अन्तरसंघर्ष रहेको थियो । दुई वर्षअघि सरकारले सो ठाउँमा रहेको करीब ४०० बिगाहा जमिनमध्ये ४० बिगाहामा त्रिविले इन्जिनियरिङ कलेज सञ्चालन गर्ने र बाँकी रहेको सबै जग्गा एएफयुलाई दिने निर्णय गरेसँगै दुई विश्वविद्यालयको झगडा मत्थर भए पनि कार्यान्वयन भइसकेको छैन ।

सोही ठाउँको जग्गामा भरतपुर महानगरपालिकासँग सहकार्य गरेर इन्जिनियरिङ कलेज सञ्चालन गर्न सकिने त्रिविविले जनाएको हो । भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले महानगरभित्र इन्जिनियरिङ कलेज आवश्यक रहेको भन्दै त्रिविविसँग सहकार्य गर्ने विषयमा छलफल शुरु भएको बताउनुभयो ।

कुन तरिकाबाट सहकार्य गर्न सकिन्छ भन्ने विषयमा महानगर र त्रिविविका बीचमा छलफल अघि बढाइने उहाँले बताउनुभयो ।

त्रिविविका उपकुलपति खनियाले अब विश्वविद्यालय ठूलो भएको भन्दै स्थानीय निकायसँग सहकार्य गरेर गुणस्तरीय शिक्षा दिने र अनुसन्धानलाई अगाडि बढाउनुपर्ने भएकाले महानगरसँग सहकार्य गरेर अघि बढ्नु उपयुक्त हुने बताउनुभयो ।

उपकुलपति खनियाका अनुसार पुल्चोक इन्जिनियरिङ कलेजकै स्वरुपमा रामपुरमा कलेज स्थापना गर्ने तयारी विश्वविद्यालयले गरेको छ । त्रिविले पुल्चोकसँगै थापाथली, पूर्वाञ्चलमा धरान र पश्चिमाञ्चलमा पोखरामा आंगिक इन्जिनियरिङ कलेज सञ्चालन गर्दै आएको छ । वर्षेनी ठूलो संख्यामा विद्यार्थी नेपालमा इन्जिनियरिङ शिक्षा पढ्न नपाएर विदेशिने गरेका छन् ।रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री