सामाजिक अन्धविश्वासको पराकाष्ठा : पानी नदिँदा प्रसूति सेवा बन्द

मन्दिर र बस्तीमा जाने खानेपानीको पाइपबाट स्वास्थ्य चौकीले पानी भर्न नपाउँदा प्रसूति सेवा बन्द भएको छ । आकासेपानीको भरमा चलेको पञ्चेश्वर स्वास्थ्य चौकीले पानी सकिएको भन्दै आइतबारदेखि प्रसूति सेवा बन्द गरेको हो ।

Advertisement

पञ्चेश्वर गाउँपालिका–१ मा रहेको पञ्चेश्वर स्वास्थ्य चौकीमा प्रसूति सेवा दिन खटिएका स्वास्थ्यकर्मी कोकिला भट्ट र निर्मला लावड स्वास्थ्य चौकीमै डेरा गरी बस्नुभएको छ । दलित र सुत्केरी महिलामाथि विभेद गर्ने कुप्रचलनका कारण स्वास्थ्य चौकी भएर जाने मन्दिरको खानेपानीको पाइपबाट पानी भर्न नपाएको अनमी निर्मला लावडले बताउनुभयो ।

स्वास्थ्य चौकीको छेवैबाट पञ्चेश्वर गाउँपालिका–१, सल्ला बस्तीका लागि ६० मिलिमिटर मोटो पाइपमा चौबिसै घण्टा पानी आउँछ । स्थानीय बस्तीका मानिसले स्थानीय धामकुडी मन्दिरलाई पानी दिए पनि स्वास्थ्य चौकीलाई पानी नदिएको पञ्चेश्वर स्वास्थ्य चौकी इन्चार्ज सुरेश सार्कीले बताउनुभयो ।

स्वास्थ्य चौकी भएर जाने खानेपानीको पाइपबाट तीन महिनामा एक रात मात्रै पानी भर्न दिए प्रसूति सेवाका लागि निर्माण गरिएको ३० हजार लिटरको ट्याङ्की भरिने उहाँले बताउनुभयो । तर स्वास्थ्य चौकीलाई पानी दिए मुहान सुक्ने डरले स्थानीय पानी दिन तयार नभएको उहाँले बताउनुभयो ।

स्वास्थ्य चौकी इन्चार्ज दलित, अनमी पनि दलित र त्यसमाथि सुत्केरीले पानी प्रयोग गर्ने भएका कारण घुमाउरो ढङ्गले विभेद गरिएको उहाँले बताउनुभयो । आजको गोरखापत्र दैनिकमा यो समाचार छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री