शुक्रबार, १४ वैशाख २०८१

राष्ट्रिय परिचयपत्रको काममा अवरोध

पत्रपत्रिका २०८० जेठ २० गते ६:४७

Advertisement

राष्ट्रिय परिचयपत्रसम्बन्धी सम्पूर्ण काममा अवरोध भएको छ। परिचयपत्र निर्माणसम्बन्धी सफ्टवेयर बन्द भएपछि देशभरि नै बिहीबारदेखि सोसम्बन्धी सम्पूर्ण कार्य अवरुद्ध भएको छ। परिचपत्र निर्माणसम्बन्धी काम गर्ने कम्पनीको सम्झौता थप हुन नसक्दा परिचयपत्र निर्माणसम्बन्धी सम्पूर्ण काम अवरोध भएको हो।

राष्ट्रिय परिचय तथा पञ्जीकरण विभागका महानिर्देशक झक्कप्रसाद आचार्यले राष्ट्रिय परिचयपत्र निर्माणसम्बन्धी सर्भरमा समस्या आएको बताउँदै सोको व्यवस्थापन भइरहेको जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “सर्भरमा समस्या आएको हो। त्यसको व्यवस्थापन हुँदै छ।”

राष्ट्रिय परिचयपत्र निर्माणसम्बन्धी ‘अपरेसन’ गरिरहेको फ्रान्सेली कम्पनी आइडेमियासँगको सम्झौता अवधि समाप्त भई सो कम्पनीले सर्भर नै बन्द गरिदिएको हो। उहाँले भन्नुभयो, “हामीले ‘कोर्डिनेट’ गरिरहेका छौँ।” उहाँका अनुसार सम्झौताको अवधि आठ महिनाअघि नै समाप्त भइसकेको हो।

सो कम्पनीसँग कहिले नवीकरण हुन्छ ? भन्ने जिज्ञासामा उहाँले भन्नुभयो, “नवीकरणको प्रक्रिया सुरु नभएको होइन, अलिकति ढिलो मात्र भएको हो।” उहाँले परिचयपत्र निर्माणसम्बन्धी काम छिट्टै सुरु हुने बताउनुभयो। आजको गोरखापत्र दैनिकमा यो समाचार छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री