सोमबार, २४ वैशाख २०८१

तिला कर्णालीद्वारा हाइड्रोपावर इञ्जिनीयरिङ अध्यापन

समयपोष्ट २०७९ जेठ २६ गते १४:२३

Advertisement

कालीकोटको तिला कर्णाली बहुमुखी क्याम्पसमा हाइड्रोपावर इञ्जिनीयरिङ विषय अध्यापन हुने भएको छ । तिला कर्णाली बहुमुखी क्याम्पसका भौतिक संरचना निर्माण भएलगत्तै हाइड्रोपावर इञ्जिनियरिङ विषय पढाइ हुने जनाइएको छ ।

तत्काल भौतिक संरचना निर्माणको थालनी भइसकेकाले संरचना निर्माणलगत्तै क्याम्पसमा हाइड्रोपावर इञ्जिनियरिङ विषय क्षिक्षण गरिने मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा डा नन्दबहादुर सिंहले बताउनुभयो । “कालीकोट जिल्ला जलविद्युत्को सम्भावना रहेको स्थान हो” उहाँले भन्नुभयो, “तिला कर्णाली बहुमुखी क्याम्पसको भौतिक संरचना तयार हुने वित्तिकै हाइड्रोपावर इञ्जिनियरिङ विषय पढाइ हुनेछ ।”

सिंहले कालीकोटजस्तो दुर्गम ठाउँमा हाइड्रो इञ्जिनियरिङ पढाइका लागि सहज गराउन आफु लागिपर्ने बताउनुभयो । उहाँले स्थानीय तहले शिक्षा क्षेत्रमा ३० प्रतिशत बजेट बिनियोजन गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । क्याम्पसका प्रमुख रुद्धप्रसाद सापकोटाले शिक्षा क्षेत्रको विकासका लागि क्याम्पसले महत्वपूर्ण योगदान दिएको दावी गर्नुभयो ।

“हामीले दक्षजनशक्ति उत्पादन गर्नका लागि महत्वपूर्ण योगदान दिएका छौँ” उहाँले भन्नुभयो, “सबैको सहयोग भएमा हामीले जिल्लामै नै अझ शिक्षामा नयाँ आयाम थप्न सक्छौँ ।” उहाँले क्याम्पसमा नयाँ सङ्कायका विषय अध्यापन गराउन तयारी थालेकाले सरोकारवालाबाट सहयोगको अपेक्षा गर्नुभएको छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री