शनिबार, ८ वैशाख २०८१

विपक्षी गठबन्धन संसद विघटनविरुद्ध सडक संघर्षमा उत्रिने

समयपोष्ट २०७८ असार ९ गते २२:१०

Advertisement

विपक्षी गठबन्धनले प्रतिगमनविरुद्ध जनपरिचालनका कार्यक्रम अघि बढाउने निर्णय गरेको छ ।

बुधबार साँझ काँग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको गठबन्धनको बैठकले यस्तो निर्णय गरेको हो । संविधान, लोकतन्त्र र राष्ट्रियताका पक्षमा जनपरिचालनका कार्यक्रम अन्तर्गत विहीबार गठबन्धन सम्बद्ध विद्यार्थी संगठनले विरोध प्रदर्शन गर्न लागेको काँग्रेस महामन्त्री पूर्णबहादुर खड्काले बताए ।

दोस्रो लहरको कोरोना संक्रमण घट्दै गएकाले स्वास्थ्य मापदण्डलाई ख्याल गर्दै विरोधका कार्यक्रम अगाडि बढाउने गठबन्धनले निष्कर्ष निकालेको उनको भनाइ छ । स्वास्थ्य मापदण्डको पालना गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको प्रतिगमनकारी​ निर्णयका विरुद्धमा कार्यक्रम गर्न पार्टी संगठनलाई जनपरिचालन खड्काले बताए ।

उनले भने, ‘स्वास्थ्य मापदण्डलाई ध्यानमा राखेर हामीले विरोध कार्यक्रम निरन्तर गर्छौ । बाढी-पहिरोबाट क्षति भएका ठाउँमा राहत र सहयोगको कार्यक्रमका लागि संगठन परिचालन गरिने छ ।’

बैठकमा काँग्रेस सभापति देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमालेका वरिष्ठ नेता माधव नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल लगायतका नेताहरू उपस्थित थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री