बुधबार, ५ वैशाख २०८१

नेपालमा बढीभन्दा बढी लगानी बढाउन चिनिया निजी क्षेत्रलाई अर्थमन्त्रीको आग्रह

समयपोष्ट २०७४ जेठ १२ गते ८:४७

उपप्रधान तथ अर्थमन्त्री कृष्णबहादुर महराले नेपालमा बढीभन्दा बढी लगानी बढाउन चिनिया निजी क्षेत्रलाई आग्रह गरेका छन् । शुक्रबार काठमाडौंमा शुरु भएको नेपाल चीन गैह्र सरकारी सहयोग मंचको १४ औं बैठकमा बोल्दै उपप्रधानमन्त्री महराले चीनले हासिल गरेको उच्च आर्थिक वृद्धिबाट लाभ उठाउन नेपाल लालयित रहेको बताए । 

Advertisement

उनले सरकार चिनिया निजी क्षेत्रलाई सबै प्रकारको सहयोग गर्न तयार रहेको प्रष्ट पारे । बैठकमा अर्थमन्त्रीले आर्थिक विकासका एजेण्डामा कार्य गर्न नेपाल चीन गैह्र सरकारी सहयोग मंच जस्ता फोरमको अधिकतम उपयोग हुनुपर्नेमा जोड दिए । 

बैठकमा बोल्दै उपप्रधानमन्त्री महराले दुवै देशका सरकारबाट आपसी आर्थिक व्यवसायिक सम्बन्ध, सहयोग विस्तार, संयुक्त लगानी, सांस्कृतिक प्रवद्र्धन एवं आपसी हितका विषयमा सहकार्यलाई मजवुद बनाउने उद्देश्यले मञ्च स्थापना भएको बताए ।

उपप्रधानमन्त्री महराले दुवै देशका निजी क्षेत्रका प्रतिनिधिमुलक संस्थाहरु नेपाल उद्योग वाणिज्य महासंघ र अखिल चीन उद्योग वाणिज्य महासंघको नेतृत्वमा प्रभावकारी रुपमा अगाडी बढेकोमा खुशी व्यक्त गरे । महराले सन् १९९६ मा स्थापना भएको मञ्च, आर्थिक, व्यापारिक, लगानी, पर्यटन तथा जनस्तरमा सम्बन्ध स्थापनामा कोशेढुंगा सावित भएको बताए ।

मित्र राष्ट्र चीनले अगाडी सारेको एक क्षेत्र एक रोड अवधारणाको नेपाल महत्वपूर्ण हिस्सेदार हुन पाएकोमा खुशी व्यक्त गर्दै महराले नेपालले ओवोरबाट आर्थिक रुपमा निकै ठूलो फाइदा उठाउन सक्ने बताए ।

नेपाल उद्योग वाणिज्य महासंघ र अखिल चीन उद्योग वाणिज्य महासंघद्वारा संयुक्त रुपमा आयोजना गरिएको बैठकमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष एवं मञ्चका सहअध्यक्ष भवानी राणा,नेपालका लागि चिनिया राजदुत यू होङ्ग,एसीएफआइसीका उपाध्यक्ष एवं मंचका सहअध्यक्ष सिए चिनरोङ्ग,उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा लगायतले मन्तब्य राखेका थिए । 

दुवै देशका उद्यमी व्यवसायीहरुको ठूलो सहभागिता रहेको बैठकमा दुवै महासंघका पदाधिकारीहरु, कुटनीतिक नियोगका प्रतिनिधिहरु, नेपाल चीन बीच व्यापार व्यवसाय गर्ने उद्यमी व्यवसायीहरुको उपस्थिति रहेको थियो । उक्त बैठकमा भाग लिन अखिल चीन उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवं मंचका सहअध्यक्षको नेतृत्वमा करिव ४० जना चिनियाँ उद्यमी व्यवसायीहरु नेपाल आएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री