शुक्रबार, १४ वैशाख २०८१

चीनको ‘वान बेल्ट वान रोड’ अवधारणामा नेपालले गर्यो हस्ताक्षर

समयपोष्ट २०७४ वैशाख २९ गते ७:०२

नेपाल र चीनले ‘वान बेल्ट वान रोड’ अवधारणामा हस्ताक्षर गरेका छन् । शुक्रबार बिहान अर्थमन्त्री कृष्णबहादुर महरा र परराष्ट्रमन्त्री प्रकाशशरण महतको उपस्थितिमा नेपालका तर्फबाट परराष्ट्रसचिव शंकरदास बैरागी र चीनका तर्फबाट नेपालका लागि राजदूत यु होङले हस्ताक्षर गरेका हुन् । मन्त्रिपरिषद्ले सोमबार गरेको निर्णयअनुसार शुक्रबार बिहान परराष्ट्र मन्त्रालयमा हस्ताक्षर भएको हो ।
परराष्ट्र मन्त्रालयमा आयोजित विशेष कार्यक्रममा बोल्दै महतले यो सम्झौताले नेपाल र चीनबिच कनेन्टीभिटीको महत्वपूर्ण माध्यम बन्ने आशा व्यक्त गरे । उनले यो सम्झौता नेपालका लागि महत्वपूर्ण भएको बताए । ‘रोड र रेल वे कनेन्टीभिटी हाम्रा लागि महत्वपूर्ण छ’  ‘मन्त्री महतले भने, ‘यसमा लगानी होस् भन्ने चाहन्छौं ।’
समझदारीपछि चीनसँग कनेक्टिभिटी, लगानी, क्षमता अभिवृद्धि, मुद्रा उपयोग, व्यापार तथा पारबहनलगायतका विषयमा सहकार्यको बाटो खुल्ने नेपालले अपेक्षा गरेको छ ।
अल्पविकसित राष्ट्रका रुपमा रहेको नेपालको विकासमा देखिएको चुनौती सामना गर्नका लागि यो सम्झौता लाभदायक हुने सचिव शंकर दास बैरागीले बताए ।
नेपालले चीनसँग ओबिओआर अवधारणामा सहभागी हुने सैद्धान्तिक प्रारम्भिक समझदारीपत्रमा सन् २०१४ डिसेम्बरमा हस्ताक्षर गरेको थियो ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको औपचारिक चीन भ्रमणका क्रममा ओबिओआरमा हस्ताक्षर गर्ने सहमति भएको थियो ।
ओबिओआर मञ्चको बेइजिङमा आयोजना हुने अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन उपप्रधानमन्त्री कृष्णबहादुर महरा नेतृत्वमा तीन मन्त्रीसहितको प्रतिनिधिमण्डल शुक्रबारै चीन जाँदै छ ।
प्रतिनिधिमण्डलमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखक र सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्की सहभागी हुनेछन् । सम्मेलन आइतबार र सोमबार सञ्चालन हुने तय भएको छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री