बिहीबार, १५ जेठ २०८२

भारत सरकारको आर्थिक सहयोगमा मुक्तिकोटमा बन्ने कृषि प्रवद्र्धन केन्द्रको भवन शिलान्यास

समयपोष्ट २०८२ जेठ १५ गते ७:३६


बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकास्थित मुक्तिकोटमा खाद्यान्न सङ्कलन तथा वितरण केन्द्रको रुपमा उपयोग गरिने कृषि प्रवद्र्धन केन्द्रको भवन निर्माणको शिलान्यास गरिएको छ। स्वामीकार्तिक खापर गाउँपालिकाका अध्यक्ष भरत बहादुर रोकाया र नेपालका लागि भारतीय राजदूतावास काठमाडौँका काउन्सिलर अविनाश कुमार सिंहले संयुक्तरुपमा बुधबार उक्त भवनको शिलान्यास गर्नुभयो।

Advertisement

शिलान्यास कार्यक्रममा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी, समाजसेवी तथा स्थानीय समुदायका सदस्यहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।

भारत सरकारको ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गतको आर्थिक सहयोगमा नेरु ३ करोड १४ लाख १० हजारको लागतमा उक्त भवन निर्माण हुने भएको छ। वितरण डेस्क, रेकर्ड रुम तथा अन्य आवश्यक संरचना सहितको यो केन्द्र अन्न भण्डारण र वितरणको लागि निर्माण गरिनेछ। परियोजना स्वामीकार्तिक खापर गाउँपालिकामार्फत कार्यान्वयन हुनेछ र यसलाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अघि बढाइएको छ।

गाउँपालिका अध्यक्षसहित अन्य स्थानीय प्रतिनिधिहरुले भारतीय सरकारद्वारा नेपाली जनताको लागि प्रदान गरिँदै आएको विकास सहयोगप्रति आभार प्रकट गर्दै उक्त संरचनाले विशेषगरी हिमाली भेगमा कृषि उत्पादनको सङ्कलन, भण्डारण तथा वितरण प्रक्रियालाई व्यवस्थित र दिगो बनाउने विश्वास व्यक्त गरे। नयाँ पूर्वाधारले लामो समयसम्म खाद्य वस्तुहरुको भण्डारण सुनिश्चित गर्न सक्ने भएकाले यसले स्थानीय खाद्य सुरक्षामा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

सन् २००३ यता भारत सरकारले नेपालमा ५७३ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु अघि बढाइसकेकोमा ४९५ परियोजनाहरु सफलतापूर्वक सम्पन्न भइसकेका छन्। सुदूरपश्चिम प्रदेशमा मात्रै ४३ वटा यस्ता परियोजनाहरु सञ्चालनमा छन्, जसमा बाजुरामा कार्यान्वयन भइरहेका दुई परियोजनाहरु पनि समावेश छन्।

Advertisement

यसका साथै, भारत सरकारले नेपालका विभिन्न अस्पताल, स्वास्थ्य चौकी र शैक्षिक संस्थाहरुलाई १००९ एम्बुलेन्स र ३०० स्कुल बस उपहार स्वरूप प्रदान गरेको छ। सुदूरपश्चिम प्रदेशमा ७० एम्बुलेन्स र २७ स्कुल बस प्राप्त भएकोमा बाजुरा जिल्लाले ३ एम्बुलेन्स र १ स्कुल बस पाएको हो।

प्रतिक्रिया

सम्बन्धित सामाग्री