सोमबार, ५ जेठ २०८२

सिंहदरबारमा प्रधानमन्त्रीले खोजे बालेन

समयपोष्ट २०८२ जेठ ५ गते १५:५०

Advertisement

प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको अनुपस्थितिप्रति असन्तुष्टि व्यक्त गर्दै महत्त्वपूर्ण बैठकमा जनप्रतिनिधिको अनिवार्य उपस्थिति सुनिश्चित गर्न निर्देशन दिएका छन्। सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको गणतन्त्र दिवस मूल समारोह समितिको बैठकमा मेयर शाहको सट्टा उपमेयर सुनिता डंगोल उपस्थित थिइन्।

मेयर शाहको नाम नलिई प्रधानमन्त्री ओलीले काठमाडौँका जनप्रतिनिधिको उपस्थिति यस्ता बैठकमा आवश्यक रहेको बताए। उनले भने, “कहिल्यै नआउने, नाम मात्र राखिरहनुपर्ने चलन छोड्नुपर्छ। कोही व्यक्ति हरेक कार्यक्रममा नाम राखिन्छ, तर उपस्थित हुँदैनन्। यस्तो अनुपस्थितिको रेकर्ड हेरेर आगामी बैठकमा नाम समावेश गर्नु अघि सोधखोज गर्नुपर्छ। नाम मात्र झुन्ड्याएर अर्थ हुँदैन।”

उनले थपे, “महत्त्वपूर्ण बैठकमा जनप्रतिनिधिको उपस्थिति अनिवार्य हुनुपर्छ। अब यस्तो अनुपस्थिति स्वीकार्य हुँदैन।”

बैठकले गणतन्त्र दिवस (जेठ १५) लाई जेठ १४, १५ र १६ गते त्रिदिवसीय रूपमा मनाउने निर्णय गरेको छ। हरेक साँझ सार्वजनिक निकायहरूमा दीप प्रज्वलन गरिनेछ। केन्द्र, प्रदेश र स्थानीय तहका सरकार, निजी क्षेत्र र संघ–संस्थालाई समेटेर समिति र उपसमितिहरू गठन गरिएको छ। विदेशस्थित नेपाली राजदूतावास र कूटनीतिक नियोगहरूमा पनि कार्यक्रम आयोजना हुनेछ। मुख्य समारोह जेठ १५ गते सैनिक मञ्च टुँडिखेलमा हुनेछ।

Advertisement

मूल समारोह समितिमा उपप्रधानमन्त्री, मन्त्री, काठमाडौँ र ललितपुर महानगरपालिकाका प्रमुख, मुख्यसचिव, प्रधानसेनापति, नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षक, उपत्यकाका नगरपालिकाका प्रमुखलगायत सदस्य छन् भने गृह मन्त्रालयका सचिव सदस्यसचिव छन्।

प्रधानमन्त्री ओलीले गणतन्त्र दिवसलाई जनस्तरमा भव्य रूपमा मनाउन र औपचारिकतामा सीमित नगर्न सबैलाई आह्वान गरे।

प्रतिक्रिया

सम्बन्धित सामाग्री