बढ्यो नेप्से परिसूचक, यी चार स्टकमा सकारात्मक सर्किट
साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक बढेर बन्द भएको छ। पछिल्ला ६ कारोबार दिनदेखि लगातार घटिरहेको नेप्से परिसूचक सोमबार १९.३० अंकले बढेर २६२८.३६ विन्दुमा पुगेको छ। यद्यपि, परिसूचकमा सुधार आए पनि कारोबार रकम भने घटेको छ। आइतबार ८ अर्ब ५० करोड रुपैयाँको शेयर कारोबार भएको बजारमा सोमबार ३२४ स्टकको ७१,२८७ पटकको कारोबारमा ७ अर्ब ३५ करोड ८८ लाख ५५ हजार रुपैयाँबराबरको १ करोड ६२ लाख ५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
सोमबार चार स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सप्तकोशी डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, ओम मेगाश्री फर्मास्यूटिकल्स र तेह्रथुम पावर कम्पनीको शेयर सकारात्मक सर्किटमा पुगेका हुन्। यस दिन विन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य भने सर्वाधिक १० प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा राधी विद्युत कम्पनी शीर्ष स्थानमा रह्यो। सो कम्पनीको ५९ करोड ७६ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ। नेपाल पुनर्बीमा कम्पनीको ५१ करोडभन्दा बढी र हिमालयन रि इन्स्योरेन्सको ४१ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।
१३ उपसमूहमध्ये १२ वटाको परिसूचक बढेको छ भने एक उपसमूहको परिसूचक घटेको छ। विकास बैंक उपसमूहको परिसूचक सबैभन्दा धेरै १.८८ प्रतिशतले बढेको छ। बैंकिङ, जलविद्युत, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले उकालो लागेको छ। यता, होटल तथा पर्यटन उपसमूहको परिसूचक भने १.२४ प्रतिशतले घटेको छ।
प्रतिक्रिया