आइतबार, ४ जेठ २०८२

सिभिल सहकारी ठगी प्रकरण: इच्छाराज तामाङलाई थुनामुक्त गराउने निवेदन सर्वोच्चबाट खारेज

समयपोष्ट २०८२ जेठ ४ गते २०:३९


सिभिल सहकारी प्रकरणमा संगठित अपराध र ठगीको आरोपमा थुनामा रहेका पूर्व सांसद तथा सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङको थुनामुक्त गराउने मागसहितको निवेदन सर्वोच्च अदालतले अस्वीकार गरेको छ।

Advertisement

न्यायाधीश नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासले शुक्रबार गरेको ‘अन्य आदेश’मार्फत उच्च अदालतको थुनासम्बन्धी निर्णय यथास्थानमै रहने ठहर गरेको हो।

तामाङले २०८० साल चैत २५ गते सर्वोच्च अदालतमा निवेदन दर्ता गराउँदै आफूलाई थुनामा राख्नु अन्यायपूर्ण रहेको दाबी गरेका थिए। तर अदालतले उनलाई थुनामा पठाउने निर्णय उचित भएको ठहर गरेपछि अब उनी छुट्ने अवस्था समाप्त भएको छ।

तामाङमाथि सिभिल सहकारीमार्फत हजारौं मध्यम तथा निम्न आय भएका नागरिकहरूको बचत रकम अपचलन गरेको गम्भीर आरोप छ। उच्च प्रतिफल र आर्थिक सुरक्षाको प्रलोभन देखाएर ठूला संख्यामा बचतकर्ताहरूलाई आकर्षित गरेका उनले राजनीतिक प्रभाव र सामाजिक पहुँचको दुरुपयोग गर्दै रकम चलाएको अनुसन्धानले देखाएको छ।

सहकारी डुबानपछि पीडित निक्षेपकर्ताहरूले उजुरी दिएपछि सहकारी विभाग र नियामक निकायहरूको संलग्नतामा तामाङविरुद्ध अनुसन्धान सुरु भएको थियो। त्यसकै आधारमा उनलाई संगठित ठगी र आर्थिक अपराध अभियोगमा पक्राउ गरी थुनामा राखिएको हो।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री