शनिबार, ३ जेठ २०८२

नापतौलमा अनियमितता गर्नेलाई कारबाही

समयपोष्ट २०८२ जेठ ३ गते २१:१५


गुणस्तर तथा नापतौल कार्यालय जनकपुरधामले चालु आर्थिक वर्षको १० महिनामा अवैध रूपमा र इजाजत नलिएर नापतौल यन्त्रको प्रयोग गर्ने एक हजार ८७२ उद्योगी तथा व्यवसायीलाई कारबाही गरेको छ ।

Advertisement

कारबाहीमा परेका व्यवसायी तथा उद्योगीले आफूखुसी जथाभावी ढक तथा तराजु, डिजिटल नापतौल यन्त्रको प्रयोग गरेको पाइएपछि जरिवाना गरी कानुनी दायरामा ल्याइएको कार्यालयले जनाएको छ ।

चालु आवको साउनदेखि वैशाख मसान्तसम्म गरिएको अनुगमनमा नापतौल यन्त्रको प्रयोगमा पाइएको कैफियतका आधारमा कारबाही तथा जरिवाना गरिएको कार्यालयका प्रमुख सुनिल यादवले बताउनुभयो । धनुषा, महोत्तरी, सर्लाही, सिन्धुली र रामेछाप जिल्ला कार्यक्षेत्र रहेको सो कार्यालयले १० महिनामा आठ सय ८१ नयाँ व्यवसायी तथा उद्योगीलाई नापतौल यन्त्र सञ्चालनका लागि इजाजत प्रदान गरेको उहाँले जानकारी दिनुभयो ।

सो अवधिमा दुई हजार ३७२ व्यवसायीको नापतौल यन्त्रको जाँच गर्नुका साथै सर्लाही, महोत्तरी र रामेछापमा नापतौल यन्त्रको प्रयोगको अवस्था, नापतौल जरिवाना तथा कानुनी कारबाहीसम्बन्धी चेतनामूलक जानकारी दिइएको प्रमुख यादवले उल्लेख गर्नुभयो ।

उक्त अवधिमा कार्यालयले एकल अनुगमन २९, व्यावसायिक फार्मको अनुगमन दुई सय ७२ पटक तथा संयुक्त अनुगमन १८ र व्यावसायिक फार्मको अनुगमन चार सय ९९ पटक गरी विभिन्न शीर्षकबाट रु ४१ लाख १२ हजार ८४० राजस्व सङ्कलन गरेको जनाएको छ ।

Advertisement

गत आवको सोही अवधिमा एक हजार ९७५ उद्योगी तथा व्यावसायिक फार्मको नापतौल यन्त्रको जाँच, तीन ३७८ व्यावसायिक फार्मलाई नयाँ नापतौल इजाजतपत्र प्रदान, एक हजार ३९० व्यावसायिक फार्मलाई कारबाही गरिएको जनाउँदै प्रमुख यादवले सो अवधिमा विभिन्न शीषर्कबाट रु ३० लाख ६३ हजार २४४ राजस्व सङ्कलन गरिएको उल्लेख गर्नुभयो ।

पाँच जिल्ला कारोबार रहेको कार्यालयसँग आफ्नो भवन नभएकाले साँघुरो भाडाको घरबाट काम गर्नु परेको, अनुगमनका लागि सवारीसाधनको सुविधा नभएको, कार्यालय सञ्चालनका लागि बजेट अभाव रहेको कार्यालय प्रमुख यादवले गुनासो गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री