विदेश पठाउनेदेखि बैंक ऋणसम्मका लागि नक्कली कागजात, तीन जना पक्राउ
नेपाल प्रहरीले किर्ते गरी नक्कली कागजात बनाउने कार्यमा संलग्न तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बिहीवार पत्रकार सम्मेलनमार्फत उनीहरूलाई सार्वजनिक गरेको हो।
पक्राउ पर्नेमा तारकेश्वर नगरपालिका–२, देवी चोक बस्ने ४६ वर्षीया अन्जनी बयलकोटी, ओखलढुङ्गा घर भई बुढानीलकण्ठ नगरपालिका–१२ बस्ने २८ वर्षीय निर्मल खड्का र मकवानपुर घर भई चन्द्रागिरी नगरपालिका–१, दह चोक बस्ने २३ वर्षीया अन्जु खत्री छन्। प्रहरीले तारकेश्वर–७, फुटुङमा विभिन्न सरकारी कार्यालय, स्थानीय तह, बैंक, वित्तीय संस्था र शैक्षिक प्रमाणपत्रलगायतका कागजात किर्ते गरी नक्कली बनाइरहेको सूचनाका आधारमा छापा मारेको थियो।
अनुसन्धानका क्रममा मुख्य योजनाकार बयलकोटीले विगत आठ वर्षदेखि सरकारी तथा गैरसरकारी कार्यालयका कागजात, स्थानीय तहका सिफारिसपत्र, शैक्षिक प्रमाणपत्र, जग्गाधनी पुर्जा, सवारी चालक अनुमति पत्रलगायतका कागजात किर्ते गरी नक्कली बनाउने गरेको खुलासा भएको छ। उनले यो कार्यका लागि दुई सहयोगीलाई मासिक १० हजारदेखि १५ हजार रुपैयाँ तलब दिएर राखेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार, यो गिरोहले डिपेन्डेन्ट भिसा, विवाह प्रमाणपत्र, बैंक ऋणका लागि नक्कली जग्गाधनी पुर्जा, विदेशमा विद्यार्थी भिसाका लागि सहकारी संस्थाका स्टेटमेन्ट बनाउने र कुरियरमार्फत जापान पठाउने जस्ता कार्य गर्दै आएको थियो। यस्तै, जापानलगायतका देशमा कामदार भिसाका लागि आवश्यक शैक्षिक प्रमाणपत्र र अनुभवपत्रसमेत किर्ते गरी उपलब्ध गराउने गरेको पाइएको छ।
कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार, उनीहरूले विदेशमा बस्ने नेपालीहरूका लागि पिआर र ग्रिन कार्ड आवेदनमा प्रयोग हुने मनमोहन मेमोरियल अस्पताल, सल्यान जिल्ला अस्पताल, वीर अस्पताललगायतका नक्कली मेडिकल कार्ड बनाउने गरेका थिए। साथै, भिजिट भिसाका लागि ‘क’ वर्गका सबै बैंकका नक्कली बैंक स्टेटमेन्टसमेत बनाइदिने गरेको अनुसन्धानबाट खुलेको छ।
यो गिरोहले विभिन्न शैक्षिक संस्था र सरकारी कार्यालयका होलोग्रामसमेत उपलब्ध गराउने गरेको पाइएको छ। उनीहरूको सञ्जालले विदेशमा भिसा प्रक्रियालाई सहज बनाउन र नेपालभित्रै विभिन्न प्रयोजनका लागि नक्कली कागजातको प्रयोगलाई प्रोत्साहन दिएको प्रहरीको भनाइ छ।
पक्राउ परेका तीनै जनामाथि किर्ते कागजातसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। यस्ता गतिविधिविरुद्ध प्रहरीले कडा निगरानी र कारबाही प्रक्रिया अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।
प्रतिक्रिया