वनमन्त्री शाहीसँग कतारका विशेष दूतको भेट
समयपोष्ट
२०८२ जेठ ३ गते १२:३७
वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीसँग नेपाल भ्रमणमा रहनुभएका कतारको विदेश मन्त्रालयका जलवायु परिवर्तन तथा दिगोपनसम्बन्धी विशेष दूत बदर उमर स्माइल अल दफाले भेटवार्ता गर्नुभएको छ ।
सगरमाथा संवाद स्थलमा आज भएको भेटमा उहाँहरुबीच दुई देशबीचका आपसी हितका विविध विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ । सो अवसरमा मन्त्री शाहीले दुई देशबीच वन तथा वातावरण, प्रविधि हस्तान्तरण, प्रदूषण नियन्त्रण र नवप्रवर्तन क्षेत्रमा दीर्घकालीन रणनीतिक साझेदारी गर्न सकिने उल्लेख गर्नुभएको थियो ।
साथै नेपालले कतार सरकारलाई उपहारस्वरुप उपलब्ध गराइने भनिएको एक जोडी हात्ती प्रदान गर्नका लागि प्रक्रिया अघि बढाउन एक महिनाभित्र पत्राचार गरिने मन्त्री शाहीको भनाइ थियो । मन्त्री शाहीको प्रस्तावप्रति विशेष दूत दफाले आभार व्यक्त गर्नुभएको थियो ।
प्रतिक्रिया