बिहीबार, १ साउन २०८२

सेयर बजारमा उत्साह, कारोबार र पूँजीकरणमा वृद्धि

समयपोष्ट २०८२ वैशाख २७ गते ६:५३

Advertisement

यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उल्लेखनीय वृद्धि देखिएको छ। गत साता २६२३.८३ विन्दुमा बन्द भएको नेप्से, यो साता १.४४ प्रतिशत अर्थात् ३७.८१ अंक बढेर २६६१.६४ विन्दुमा पुगेको छ। पाँच कारोबार दिनमध्ये दुई दिन बजार बढेर बन्द भएको थियो भने तीन दिन घटेको थियो।

यो साता कारोबार रकममा पनि सुधार देखिएको छ। गत साता दैनिक औसत ९ अर्ब १८ करोडको सेयर कारोबार भएको बजारमा, यो साता दैनिक औसत ९ अर्ब ५६ करोडको सेयर किनबेच भएको छ, जुन ४.०८ प्रतिशतले बढी हो। यद्यपि, दैनिक औसत सेयर संख्या ०.१२ प्रतिशतले घटेको छ भने दैनिक औसत कारोबार संख्या १०.३३ प्रतिशतले बढेको छ।

नेप्सेको कुल बजार पूँजीकरण पनि यो साता करिब १.५ प्रतिशतले बढेको छ। गत साता ४३ खर्ब ६२ अर्ब रहेको बजार पूँजीकरण, यो साता ६४ अर्बले बढेर ४४ खर्ब २७ अर्ब पुगेको छ।

यो साता १३ उपसमूहमध्ये १० वटाको परिसूचक बढेको छ भने ३ वटाको घटेको छ। वित्त उपसमूहको परिसूचक ६.१३ प्रतिशतले बढेर २५४४.७७ विन्दुमा पुगेको छ, जुन गत साता २३९७.७९ विन्दुमा थियो। त्यस्तै, निर्जीवन बीमा उपसमूहको परिसूचक ४१३.५१ अंक बढेर १२,६४५.१३ विन्दुमा पुग्दै अंकका आधारमा सर्वाधिक वृद्धि हासिल गरेको छ। जलविद्युत उपसमूहको परिसूचक पनि ३ प्रतिशतभन्दा बढीले उक्लिएको छ।

Advertisement

यता, अन्य उपसमूहको परिसूचक १.२६ प्रतिशतले घटेर २२८२.९९ विन्दुमा झरेको छ। अंकका आधारमा व्यापार उपसमूहको परिसूचक ४७.५५ अंकले घटेको छ।

यो साता नेप्सेमा ११ लाख ८४ हजार ६८६.६ कित्ता सेयर सूचीकृत भएका छन्, जसमा आरएसडिसी लघुवित्त वित्तीय संस्था र नेपाल हाइड्रो डेभलोपर्सको बोनस सेयर समावेश छन्।

सेयर मूल्यमा नेपाल माइक्रो इन्स्योरेन्सको सेयरमूल्य ६१.०४ प्रतिशतले बढेर २,२३४.२० रुपैयाँ पुगेको छ। क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयरमूल्य पनि ६१.०३ प्रतिशतले बढेको छ। यता, रिभर फल्स पावरको सेयरमूल्य भने १८.०९ प्रतिशतले घटेको छ।

फ्लोरसिट विश्लेषणअनुसार, नेपाल माइक्रो इन्स्योरेन्स, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स र ९ प्रतिशत आइसीएफसी फाइनान्स लिमिटेड डिबेञ्चर २०८८ मोस्ट पपुलर बाइ स्टकको शीर्ष स्थानमा छन्। त्यस्तै, विन नेपाल लघुवित्त, शिखर इन्स्योरेन्स र ओरियन्टल होटल्स मोस्ट पपुलर सेल स्टकको शीर्ष स्थानमा रहेका छन्।

यो साता नेप्से परिसूचक, कारोबार रकम र बजार पूँजीकरणमा देखिएको वृद्धिले बजारमा सकारात्मक संकेत देखाएको छ। विशेषगरी वित्त र निर्जीवन बीमा उपसमूहको बलियो प्रदर्शनले लगानीकर्ताहरूमा उत्साह थपेको छ। आगामी सातामा बजारको यो गति कायम रहने हो वा नयाँ परिदृश्य देखिने हो, त्यो हेर्न बाँकी छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री