व्यास नगरपालिका ‘पूर्णखोप सुनिश्चित’ घोषित

व्यास नगरपालिकालाई पूर्णखोप सुनिश्चितता भएको नगरपालिका घोषणा गरिएको छ । नगरपालिकाभित्रका लक्षित बालबालिकालाई सबै खोप लगाइएपछि नगरपालिकालाई पूर्णखोप सुनिश्चितता भएको पालिका घोषणा गरिएको हो ।

Advertisement

नगरपालिकाभित्रका १६ महिनादेखि ५९ महिनासम्मका सबै बालबालिकालाई खोप लगाएपछि पूर्णखोप सुनिश्चिता घोषणा गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले जानकारी दिनुभयो । यसक्रममा १६ महिनादेखि पाँच वर्षसम्मका दुई हजार आठ सय १८ बालबालिकालाई सबै खोपको पहुँचमा ल्याइएको तथा १५ महिनासम्मका एक हजार ११ बालबालिकालाई खोप लगाइएको उहाँले बताउनुभयो ।
नगरपालिकाको सभाहलमा सोमबार आयोजित कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख एवं खोप समन्वय समितिका संयोजक शान्तिरमण वाग्लेले व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेलाई पूर्णखोप सुनिश्चितताको प्रमाणपत्र प्रदान गर्नुभएको छ ।

त्यस अवसरमा गण्डकी प्रदेशसभा सदस्य अशोककुमार श्रेष्ठले पूर्णखोप सुनिश्चितता अभियानलाई दिगोपना कायम राख्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा जगदीशचन्द्र पोख्रेल, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, स्वास्थ्य कार्यालय तनहुँका प्रमुख विद्या तामाङलगायत वक्ताले पूर्णखोप घोषणा भएसँगै भविष्यमा पनि यसलाई कायम राख्न सम्बन्धित सबै सजग हुनुपर्नेमा जोड दिनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री