शनिबार, १५ वैशाख २०८१

प्रचण्डले मोदीलाई भने -‘सीमा क्षेत्रमा नेपालीले समस्या भोगेका छन्,त्यो समाधान गरिदिनुपर्यो’

समयपोष्ट २०७५ वैशाख २९ गते १०:३५

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ ले विराटनगरस्थित भारतीय दूतावासको सम्पर्क कार्यालय र नेपाल भारत सीमा क्षेत्रमा देखिएका समस्या समाधानका लागि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई आग्रह गर्नुभएको छ ।

Advertisement

नेपालको राजकीय भ्रमणमा रहनुभएका भारतका प्रधानमन्त्री मोदीसँग आज यहाँ भएको भेटवार्तामा अध्यक्ष दाहालले सीमा क्षेत्रको समस्या र विराटनगरको सम्पर्क कार्यालयको समस्या समाधान भए दुई देशको सम्बन्ध थप सुमधुर बन्ने विश्वास व्यक्त गर्नुभएको हो ।

भेटका अवसरमा आफूले विराटनगरमा रहेको दूतावासको सम्पर्क कार्यालय र सीमा क्षेत्रमा नेपालीले भोग्नुपरेको समस्या समाधान गर्न भारतका प्रधानमन्त्रीलाई आग्रह गरेको जानकारी दिनुभयो ।

कोशीको बाढीलगत्तै भारतीय पक्षले राहत तथा उद्धारका लागि सहयोग पुग्ने भन्दै विसं २०६५ मा विराटनगर १३ स्थित मलाया रोडमा दूतावासको सम्पर्क कार्यालय स्थापना गरेको थियो ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष दाहालले नेपाल–भारत अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा नेपाली नागरिक आवतजावत गर्दा समस्या भोग्नुपरेको र सीमा क्षेत्रमा अन्य समस्या पनि कायम रहेकाले समाधानका लागि आग्रह गरेको भेटपछि सञ्चारकर्मीलाई जानकारी दिनुभयो ।

“सीमा क्षेत्रमा नेपालीले समस्या भोगेका छन्, त्यसलाई समाधानको पहल गरिदिनुप¥यो भनेर मैले भारतीय प्रधानमन्त्रीलाई आग्रह गरेको छु । उहाँले सकारात्मक जवाफ दिनु भएको छ”, भेटवार्तापछि अध्यक्ष दाहालले भन्नुभयो ।

नयाँ संविधानको कार्यान्वयनसँगै नेपाल आर्थिक समृद्धिको दिशामा अगाडि बढेकाले महत्वपूर्ण सहयोग भारतकातर्फबाट उपलब्ध हुने अपेक्षा आफूले कुराकानीका अवसरमा राखेको अध्यक्ष दाहालले जानकारी दिनुभयो ।

भेटवार्तामा आपसी हित र द्विपक्षीय चासोका विषयमा छलफल भएको थियो । प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको निर्वाचन सम्पन्न गरेर संविधानको कार्यान्वयनसँगै नेपाललाई आर्थिक समृद्धिको दिशामा अगाडि बढाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै भारतीय प्रधानमन्त्री मोदीले अध्यक्ष दाहालको प्रशंसासमेत गर्नुभएको थियो । रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री