शुक्रबार, १४ वैशाख २०८१

मोदीसँग प्रचण्डले भनेः सिमामा भारतीय ज्यादती भो, सम्झाउनुस् !

समयपोष्ट २०७५ वैशाख २९ गते ९:०७

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सीमा क्षेत्रमा भारतीय ज्यादती धेरै भएकोले भारत सरकारले तत्काल कदम चाल्नुपर्ने बताएका छन् ।

Advertisement

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सम्मानमा हिजो साँझ आयोजना गरिएको रात्रीभोजका अवसरमा अध्यक्ष प्रचण्डले उक्त कुरा राखेका हुन् ।

अनौपचारिक भेटका अवसरमा प्रचण्डले सीमा क्षेत्रको समस्या तत्काल अन्त्य नभए गत वर्षको जस्तो गोविन्द गौतम घटना दोहोरिने सक्नेतर्फ सचेत गराएको बैठकमा सहभागी एक नेताले बताए ।

‘कञ्चनपुरको सीमा क्षेत्रमा तनाव अन्त्य हुन सकेको छैन, जनता भडकिन सक्छन्, फेरी गोविन्द गौतम घटना हुनसक्छ’, प्रचण्डले भने, ‘स्थायी समाधान खोज्नु पर्यो ।’

आफूले सरकारमा छँदा सीमा सुरक्षाको विषयलाई गम्भीरतापूर्वक पहल गरेको स्मरण गराउँदै प्रचण्डले सीमा सर्भेको काम तत्काल सम्पन्न गर्नुपर्ने र दुबै देशबीचको सम्बन्धलाई सम्मानजनक ढंगले अझै विकास गर्नुपर्ने बताएका थिए । उक्त अवसरमा प्रचण्डले भारतसँगको विगतको सम्बन्धमा ऐतिहासिक परिवर्तन गर्नुपर्नेमा समेत जोड दिए ।

दुबै छिमेकीहरु तीब्र आर्थिक विकासतर्फ अघि बढेको बेला नेपालले समेत दुबैका बीच पुलको काम गर्न सक्ने प्रचण्डको भनाई थियो ।

नेपाल भारतवादी या चीनवादी भनेर प्रचार गरिनेतर्फ संकेत गर्दै प्रचण्डले नयाँ संविधानको कार्यान्वयनसँगै नेपालले दुबै छिमेकीबीच सन्तुलित सम्बन्धका आधारमा समृद्धि हासिल गर्न खोजेको बताएका थिए ।

‘अब नेपाललाई हेर्ने दृष्टिकोणमा नै परिवर्तन आवश्यक छ, हामी दुई देशबीच पुल बन्न सक्छौं, दक्षिण एशियालाई नै नयाँ आर्थिक र राजनीतिक केन्द्र बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छौं’ प्रचण्डको भनाई थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री