आइतबार, १४ मंसिर २०७७

पशुपतिमा भारतका प्रधानमन्त्री मोदीको विशेष पूजा तयारी पूरा

समयपोष्ट २०७५ वैशाख २८ गते १२:२२

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको पशुपतिनाथमा विशेष पूजा एवं दर्शनका लागि सम्पूर्ण तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

Advertisement

मुक्तिनाथमा पूजा एवं दर्शनपछि शनिबार बिहान साढे दश बजेपछि प्रधानमन्त्री मोदी पशुपतिनाथ आइपुग्नु हुने कार्यक्रम छ । भारतीय प्रधानमन्त्रीको स्वागतका लागि पशुपतिमा सरसफाइ, स्वागतद्वार निर्माण लगायत सबै तयारी पूरा भएको कोषका सदस्य सचिव डा प्रदीप ढकालले राससलाई जानकारी दिनुभयो ।

मोदीले यसअघि २०७१ साउन १८ गते सोमबार पशुपतिनाथ मन्दिरमा रुद्राभिषेकसहित विशेष पूजा गर्नुभएको थियो । पूजापछि उहाँले पशुपति मूल मन्दिरको जीर्णोद्वारका लागि भारतीय रुपैयाँ २५ करोड, सरसफाइका लागि रु पाँच करोड सहयोग घोषणा गर्नुभएको पूर्व सदस्य सचिव डा गोविन्द टण्डनले जानकारी दिनुभयो ।

Advertisement

त्यसबेलाको घोषणाको सहयोग मन्त्रालयले दिनुपर्ने अनुमतिको प्रक्रिया पूरा नभएकाले रोकिएको उहाँले सुनाउनुभयो । सहयोगसम्बन्धी त्यो प्रस्ताव अहिले पनि अर्थ मन्त्रालयमा रोकिएको कोषले जनाएको छ ।

चार वर्षअघिको भारतीय प्रधानमन्त्री मोदीको पशुपतिनाथ मन्दिरमा भएको पूजाका अवसरमा १२ वर्ष अघिदेखि रोकिएको नेपाल–भारत मैत्री धर्मशाला निर्माणको बाटो खुला भयो । धर्मशाला निर्माण हाल अन्तिम चरणमा पुगेको छ । कोषले उपलब्ध गराएको १६ रोपनी जग्गामा भारत सरकारले तीन तारे होटलस्तरको धर्मशाखा निर्माण गरिरहेको छ ।

धर्मशालामा ४०० जनाको क्षमता छ । धर्मशालाको निर्माणपछि पशुपतिमा विश्वका धार्मिक पर्यटकको संख्या बढ्ने विश्वास गरिएको छ ।रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री