शुक्रबार, १४ वैशाख २०८१

हिमालयन र इन्भेष्टमेन्ट बैंकबीच ‘बिग मर्जर’ सहमति, मर्जरपछि अध्यक्ष पाँडे, सीईओ राणा र डेपुटी सीईओ पाण्डे

समयपोष्ट २०७८ वैशाख ३० गते १७:२०

Advertisement

आगामी दुई महिनाभित्र प्रक्रिया सक्ने गरी हिमालयन बैंक लिमिटेड र इन्भेष्टमेन्ट बैंक लिमिटेडबीच ‘बिग मर्जर’ सहमति भएको छ ।

बिहीबार दुई संस्थाबीच भएको मर्जर सम्झौतापत्रमा हिमालयन बैंकका अध्यक्ष तुलसी गौतम र नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेले हस्ताक्षर गरेका छन्।

मर्जर सम्झौतासँगै दुवै संस्थाले यसको जानकारी राष्ट्र बैंक, नेपाल स्टक एक्सचेञ्ज, कम्पनी रजिष्ट्रार र धितोपत्र बोर्डलाई औपचारिक रूपमा दिएका छन्। अब एकीकृत कारोबार नहुन्जेल दुवै संस्थाको सेयर कारोबार रोक्का हुनेछ।

मर्जर सहमतिपछि दुवै बैंकका प्रमुख कार्यकारी अधिकृतले यो एकदमै ठूलो निर्णय भएको र यसले वित्तीय क्षेत्रलाई निकै फाइदा पुर्‍याउने बताए। हिमालयनका प्रमुख कार्यकारी अशोक राणाले ‘माइलस्टोन’ निर्णय भएको बताए। इन्भेष्टमेन्टका प्रमुख कार्यकारी पाण्डेले वित्तीय स्थायित्वमा ठूलो योगदान गर्ने र यसबाट अरुलाई पनि प्रेरणा मिल्ने बताए।

मर्जर सहमतिमा अध्यक्षबाहेकका बाँकी पदाधिकारी ‘भर्चुअल’ माध्यमबाट सहभागी थिए। मर्जरका लागि सहमति गर्नु अगाडि गरिएको सम्पूर्ण सम्पत्ति तथा दायित्वको प्रारम्भिक मूल्यांकन (डीडीए) मा हिमालयनको प्रति सेयर मूल्य १०२ रुपैयाँ ५० पैसा हुँदा इन्भेष्टमेन्टको १०० रुपैयाँ आएको छ।

दुवै बैंकबीच मर्जर पूर्व लाग्ने सम्पूर्ण खर्च आधा आधा ब्यहोर गरिने सहमति भएको छ। हिमालयन बैंकको कर्मचारी नियमावलीलाई नै अवलम्बन गरिने छ। यसो हुँदा इन्भेष्टमेन्ट बैंकका कर्मचारीको आधारभूत तलब बढ्ने छ।

अहिले हिमालयनमा हजार जना जति कर्मचारी छन् भने इन्भेष्टमेन्टमा १५ सय जना हाराहारी कर्मचारी छन्। इन्भेष्टमेन्टले करारमा पनि कर्मचारी राखेको छ। उनीहरुका बारेमा इन्भेष्टमेन्टले निर्णय गर्नुपर्ने हुन्छ। मर्जरपछि प्रमुख कार्यकारी हिमालयनका अशोक राणा हुने छन् भने डेपुटी प्रमुख कार्यकारी इन्भेष्टमेन्टबाट ज्योति पाण्डे हुने छन्। ज्योति पाण्डेलाई केही स्पष्ट अधिकारसहित डेपुटी प्रमुख कार्यकारी बनाइने छ।

अध्यक्ष इन्भेष्टमेन्ट बैंकका पृथ्वीबहादुर पाँडे हुने छन्। त्यसपछि सेयर संरचनाका हिसाबले बाँकी सञ्चालक छानिने छन्। यसमा आधा हिमालयन र आधा इन्भेष्टमेन्टबाट ल्याउने प्रयास हुने छ। मर्जरपछि नाम ‘हिमालयन एण्ड नेपाल इन्भेष्टमेन्ट बैंक’ हुने छ। हिमालयन बैंकमा पाकिस्तानको बैंक हबिबको २० प्रतिशत लगानी छ। यसले आफ्नो सेयर मर्जरको समयमा पनि बिक्री गर्न पाउने भएको छ। राष्ट्र बैंकको स्वीकृति लिएर मर्जरको सहमति भएको हो।

प्रतिक्रिया

सम्बन्धित सामाग्री