शुक्रबार, २३ जेठ २०७७

मनिषा कोइरालालाई सुषमा स्वराजका श्रीमानले भने : तपाईंले चीनलाई बीचमा कसरी ल्याउन सक्नुहुन्छ ?

समयपोष्ट २०७७ जेठ ८ गते १४:३७

भारत र नेपाल सम्बन्धबारे बलिउड अभिनेत्री मनिषा कोइराललाको ट्वीटमा लगातार विवाद बढ्दो छ । अब भारतकी दिवंगत विदेशमन्त्री सुषमा स्वराजका श्रीमान् स्वराज कौशलले उनको ट्वीटको जवाफमा थुप्रै ट्वीट गरेका छन् ।

स्वराज कौशलले लेखेका छन्, ‘म तपाईंसँग बहस गर्न सक्दिनँ मेरी छोरी, मनिषा कोइराला । मैले तपाईंलाई सधैं आफ्नै छोरी मानेको छु । जब तपाईंले हामीलाई १९४२– अ लभ स्टोरीको प्रिमियरमा आमन्त्रित गर्नुभएको थियो, तब म पूरा फिल्म हेर्नका लागि बस्न सकिनँ तर सुषमाले पूरा फिल्म हेरिन् । त्यतिबेला बाँसुरी तपाईंको काखमा बसेकी थिइन् । ’

‘यो २७ वर्ष अघिको मात्रै कुरा हो । सन् १९७७ र त्यसपछि तपाईं साउथ एक्समा बस्न थाल्नुभएको थियो । तपाईं साकेतको एपीजे स्कूलमा पढ्नुहुन्थ्यो । तपाईंका पिता प्रकाश कोइराला मेरा भाइजस्ता हुन् र आमा सुषमा कोइराला मेरी भाउजु र साथी हुन् । हामीसँग साथमा मुस्किल समय देखेका छौं,’ उनी थप्छन् ।

‘जुन दिन एम्समा तपाईंका हजुरबुवा बीपी कोइरालालाई क्यान्सर भएको थाहा भयो म उनीसँगै थिएँ । मलाई थाहा छ, बीपीले मलाई भन्नुभएको थियो, ‘यो क्यान्सरको एड्भान्स स्टेज हो र म बाँच्ने समय भनेको ६ महिना हो ।’ म त्यतिबेला दुःखी थिएँ तर मैले उनको अनुहारमा निराशाको कुनै भाव देखिनँ,’ उनले भने ।

‘म तपाईंको परिवारको गौरवशाली परम्परासँग परिचित छु । तपाईंका हजुरबुवा बीपी कोइराला र उनका दुबै भाइ अर्थात् सबै तीन दाजुभाइ नेपालका प्रधानमन्त्री बने । तपाईंकी फूपू शैलजा आचार्य पनि नेपालकी उप–प्रधानमन्त्री थिइन् ।
‘मलाई यो पनि थाहा छ कि तपाईंको परिवारले कति संघर्ष गरेको छ । तपाईंका हजुरबुवा बीपी कोइराला १८ वर्षसम्म जेलमा थिए । उनको ज्यान यसकारण बच्यो किनभने हिन्दू राष्ट्र नेपालमा एक ब्राह्मणलाई फाँसी दिन पाइँदैनथ्यो । तपाईंकी फूपू (बीपी कोइरालाकी छोरी) ले पनि जेलमा आठ वर्ष बिताइन् ।’

‘र अब म तपाईंका पिता प्रकाश कोइरालाबारे बताउन चाहन्छु । उनी नेपाली कांग्रेसको संघर्षमा उनको समर्थक थिए । म सबैबारे सोच्छु । जेपी, लोहिया, चन्द्रशेखर जी, जर्ज फर्नान्डिस । सन् १९७३ मा म पनि थुप्रै हप्ताका लागि नेपालमा थिएँ र महलभित्रको आँगन पुगेको थिएँ ।’

‘हामी लोकतन्त्रका लागि तपाईंहरुको संघर्षमा तपाईंको साथमा थियौं । त्यहाँ भारत वा भारतीयजस्तो केही पनि थिएन । एकपटक जब तपाईंको राजासँग सम्झौता भयो, हामीलाई केही पनि चाहिएको थिएन । जब हामीलाई एक सांसदको रुपमा तपाईंको विचारबारे थाहा भयो, म दुःखी भएँ, तर त्यतिबेला मैले सोचेँ कि त्यो नेपाली राजनीतिका लागि अनिवार्य थियो ।’
‘भारतीयलाई थाहा हुनुपर्छ कि त्यतिबेला दुनियाँको एकमात्र हिन्दु राष्ट्रलाई तहसनहस पार्ने षड्यन्त्र चलिरहेको थियो । षड्यन्त्र गर्नेहरु माओवादीसँग मिलेका थिए । उनीहरुले एकमात्र हिन्दु राष्ट्र तहसनहस पारे, उनीहरुको उद्देश्य पूरा भइसकेको थियो ।’

‘यसको नतिजा यो भयो कि कम्युनिष्टले चीनलाई भारतविरुद्ध प्रयोग गर्न सुरु गरे । वा यस्तो भनौं कि चीनले कम्युनिष्टलाई भारतविरुद्ध प्रयोग गर्न सुरु गरे । परिणामस्वरुप पारम्परिक रुपमा हिमालयसम्म जाने भारत–चीन सीमा अब बिरगञ्जसम्म छ ।’

‘भारतलाई नेपालसँग असन्तुष्टि हुनसक्छ वा नेपाल र भारतबीच गम्भीर विवाद हुनसक्छ । यो नेपाल र भारतबीचको कुरा हो । तपाईंले चीनलाई बीचमा कसरी ल्याउन सक्नुहुन्छ ? यो हाम्रो लागि खराब हो । र यो नेपालको लागि पनि राम्रो होइन ।’

‘जब तपाईंले चीनलाई बीचमा ल्याउनुहुन्छ, तपाईंले हामीसँगको हज्जारौं वर्ष पुरानो सम्बन्धलाई समाप्त गरिरहनुभएको छ । तपाईंले हाम्रो पारस्परिक सम्बन्धलाई समाप्त गरिरहनुभएको छ । र सबैभन्दा महत्वपूर्ण कुरा, एक सर्वभौम देशको रुपमा तपाईंले आफ्नो देशको स्थितीलाई थप तल झारिरहनु भएको छ ।’ मनिषा कोइरालाले विदेशमन्त्री प्रदिप ज्ञवालीको एक ट्वीट रिट्वीट गरेपछि उनीविरुद्ध भारतीय मिडियालगायत विभिन्न व्यक्तित्व खनिएका छन् ।

बीबीसी

प्रतिक्रिया