शुक्रबार, ७ वैशाख २०८१

क्यासिनो माजोङले अदालतको फैसला कार्यान्वयन नगरे कडा आन्दोलन गर्ने पीडित मजदुरहरुको चेतावनी 

समयपोष्ट २०७३ चैत २८ गते १३:१०

क्यासिनो नेपालका पीडित मजदुरहरुले क्यासिनो माजोङ्ले सर्वोच्च अदालतको फैसला कार्यान्वयन नगरे बाध्य भएर आगामी बैशाख २१ गतेबाट सम्बन्धित क्यासिनोमा गएर धर्ना दिने चेतावनी दिएका छन् । 
सोमबार पत्रकार सम्मेलन गरेर उनीहरुले यस्तो चेतावनी दिएका हुन् । उनीहरुले ठूलो राजश्व रकम छल्न र कर्मचारी बक्यौता रकम छल्नको लागि क्यासिनो नेपालको नाम परिवर्तन गरेर क्यासिनो माजोङ् बनाईएको आरोप लगाएका छन् । 
कार्यक्रममा पीडित मजदुरको तर्फबाट हिक्मत भण्डारी, दिपक गिरी, प्रताप रानामगर, नागरिक समाजका तर्फबाट ध्रुव नारायण श्रेठ लगायतले आफ्नो धारणा राखेका थिए । 
नागरिक समाजका अगुवा श्रेष्ठले अदालतको आदेश कार्यान्वयन गराउनको लागि पीडितहरुले धर्ना दिनुपर्ने धारणाा राखे । उनले भने,‘निर्णय कार्यान्वयनका लागि बरु बल प्रयोग गर्नुपर्छ, आजको सरकारले बल प्रयोग नगरी पीडितको भाषा बुझ्दैन् ।’
त्यस्तै पीडित गिरीले भने,‘पैसाको आडमा अहिले हामी पीडितको माँग सम्बोधन गर्ने कुरालाई बेवास्ता गरिएको छ, सम्मानित अदालतको फैसला कार्यान्वयन नगरे हामी बाध्य भएर जस्तोसुकै कठोर कदम पनि चाल्न तयार हुन्छौं, फैसला कार्यान्वयन निर्देशनालयदेखि हरेक निकायमा हामी पुगेका छौं ।’ 
उनले आफूले श्रम, पसिना बगाएको संस्थासँग पाउनुपर्ने ज्याला माँग गर्दै संघर्ष गर्दागर्दै दुई जना साथीहरुले ज्यान गुमाईसकेको समेत बताए । उनले भने,‘दुई जना मित्रहरु वितिसके, एक जना पागल भएर बेपत्ता भएका  छन् । सरकार के हेरेर बसिरहेको छ, निर्णय कार्यान्यवयन गराउनको लागि हस्तक्षेप गर्नु पर्यो नि, यो देशमा राज्य छैन जस्तो लाग्न थालिसक्यो।’
पीडित मजदुरहरुद्धारा जारी गरिएका विज्ञप्तीमा भनिएको छ,‘‘हामी मजदुरहरु क्यासिनो नेपालमा लामो समयदेखि स्थायी कामदारको रुपमा कार्यरत रहेकोमा नेपाल रिक्रियसन सेन्टर प्रा.लि.ले साविकमा सञ्चालन गरेको क्यासिनो नेपालको इजाजत पत्र, क्यासिनो सञ्चालन गर्ने भवन र सामग्रीहरुको प्रयोग गरी क्यासिनो माजोङ्  ईन्टरटेनमेन्ट प्रा.ली सञ्चालनमा रहेको छ।’’
क्यासिनो नेपालमा कार्यरत कर्मचारी र अन्य सम्पूर्ण तीर्न बुझाउनुपर्ने दायित्व क्यासिनो माजोङ्ले स्विकार गरी सम्झौता गरेको उनीहरुले जनाएका छन् । 
जारी विज्ञप्तीमा भनिएको छ,‘क्यासिनो नेपालको दायित्व माजोङ ईन्टरटेनमेन्ट प्रा.लीले स्विकार गर्नुपर्ने शर्तमा क्यासिनो सञ्चालन गरेको हुँदा हामी मजदुरहरुको तलब भक्ता, सुविधा, र अन्य रकम माजोङ् ईन्टरटेनमेन्ट प्रा.लीले तिर्नुपर्ने हो होईन भन्ने विषयमा विवाद भई उक्त विषयमा सम्मानित सर्वोच्च अदालतबाट मिति २०७३ साल साउन १८ गते भएको फैसलामा क्यासिनो माजोङ् ईन्टरटेनमेन्ट प्रा.लिले नै हाम्रो तलब, भत्ता लगायत अन्य सुविधा तिर्नुपर्ने निर्णय भएको छ।’
पीडितहरुले अदालतबाट भएको यस्तो निर्णय आफूहरुको हितमा भएकोले उक्त निर्णय कार्यान्वयको लागि सम्बन्धित निकायहरुमा समेत ताकेता गरेको उल्लेख गर्दै अहिलेसम्म निर्णय कार्यान्वयन नभएकोले बाध्य भएर बैशाख २१ गतेसम्मको अल्टिमेटम दिएको बताए । 
उनीहरुले आफूहरुले लामो समयसम्म क्यासिनोमा नोकरी खाई पसिना बगाई जिन्दगीको महत्वपूर्ण  समय यसै संस्थामा विताई आफूले काम गरेको अवधिको लिन बाँकी रकमलाई मालिकले नदिएपछि विभिन्न अड्डा अदालतमा मुद्दा झेल्दा झेल्दै कतिपय व्यक्तिको मृत्यु भएको र कसैको यही कारणले पागल भएको समेत गुनासो पोखेका छन् । 
 

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री