भारतका विद्युतमन्त्री खट्टर नेपाल भ्रमणमा आउँदै

भारतका विद्युत तथा आवास तथा शहरी मामिला मन्त्री मनोहरलाल खट्टर दुई दिने औपचारिक भ्रमणका लागि वैशाख ९ गते नेपाल आउँदैछन्। ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काको निमन्त्रणामा मन्त्री खट्टर नेपाल भ्रमणमा आउन लागेका हुन्।

Advertisement

गत माघ ३० गते भारत भ्रमणको क्रममा मन्त्री खड्काले खट्टरलाई नेपाल भ्रमणको निमन्त्रणा गरेका थिए। उक्त निमन्त्रणालाई स्वीकार गर्दै मन्त्री खट्टरको भ्रमण तय भएको हो।

नेपाल भ्रमणको पहिलो दिन मन्त्री खट्टरले संखुवासभाको तुम्लिङटारमा आयोजित कार्यक्रममा सहभागी भई, भारत सरकारको सहयोगमा निर्माण सम्पन्न भएको कोशी करिडोर अन्तर्गत २२० केभी ईनरुवा–बसन्तपुर–बानेश्वर–तुम्लिङटार प्रसारण लाइन तथा तुम्लिङटार, बानेश्वर र बसन्तपुरमा निर्माण भएका २२०/१३३/३३ केभी क्षमताका सवस्टेशनहरूको संयुक्त रुपमा उद्घाटन गर्ने कार्यक्रम छ।

त्यसै दिन उनले भारतले निर्माण गरिरहेको अरुण तेस्रो जलविद्युत आयोजनाको पावर हाउस तथा बाँध क्षेत्रको अवलोकन गर्नेछन्। साथै, दुई देशको सहकार्यमा निर्माण हुन लागेको अर्को प्रसारण लाइनका लागि स्थापना गरिएको कम्पनीको सम्झौता पत्रमा पनि हस्ताक्षर हुने कार्यक्रम रहेको छ।

भ्रमणको दोस्रो दिन, वैशाख १० गते, मन्त्री खट्टरले मुस्ताङको धार्मिक तथा पर्यटकीय क्षेत्र मुक्तिनाथको अवलोकन भ्रमण गर्नेछन्। सोही दिन उनले प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहसँग शिष्टाचार भेटघाट गर्ने कार्यक्रम रहेको छ।

Advertisement

उनले सोही दिन साँझ पशुपतिनाथ मन्दिरको दर्शन गरी नेपाल भ्रमण सम्पन्न गरी स्वदेश फर्किने कार्यक्रम तय भएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री