मंगलबार, १८ वैशाख २०८१

यसकारण बढ्न सकेन घरजग्गा कारोबार

पत्रपत्रिका २०८१ वैशाख ४ गते ६:०३

Advertisement

बजार अर्थतन्त्रमा निरन्तर देखिएको मन्दी, सर्वसाधारणसँग बचत कमी तथा कर्जामा बैंकको कडाइका कारण सुस्ताएको घरजग्गा कारोबार अपेक्षित रूपमा बढ्न सकेको छैन ।नेपालमा भन्दा विदेशमा जग्गाको मूल्य तुलनात्मक महँगो नभएपछि बिदेसिएका नेपालीका परिवारले नेपालमा भन्दा विदेशमा घरजग्गा जोड्न थालेपछि नेपालमा घरजग्गाको कारोबार सुस्ताएको छ ।

नेपाली जनताको आम्दानी नबढ्दै घरजग्गाको मूल्य अस्वाभाविक रूपमा अचाक्ली बढ्दा लिएको कर्जा तिर्न नसकेपछि सहकारी डुब्ने क्रम चल्यो र बैंकमा गैरबैंकिङ सम्पत्ति थुप्रिएपछि घरजग्गाको कारोबार नबढेको विज्ञको भनाइ रहेको छ ।

यद्यपि, गत साउनमा सरकारले जग्गाको कित्ताकाट खुलाएपछि सामान्य रूपमा उठेको घरजग्गा कारोबार गतवर्ष चैतको तुलनामा २ दशमलव २४ प्रतिशतले बढेको छ । तर, गत माघ र फागुनको तुलनामा भने चैतमा कारोबार घटेको छ ।

भूमि व्यवस्था तथा अभिलेख विभागको तथ्यांकअनुसार माघमा देशभर ५० हजार ९ सय २१ संख्यामा घरजग्गा किनबेच भएको थियो । फागुनमा भने ५० हजार ९ सय ९८ संख्यामा घरजग्गा किनबेच भएको थियो ।

चैतमा देशभर ५० हजार २ सय ५२ संख्यामा मात्र घरजग्गा कारोबार भएको विभागको तथ्यांक रहेको छ ।

गतवर्षको चैतमा भने ४९ हजार १ सय ५० संख्यामा घरजग्गा कारोबार भएको थियो ।

विभागको तथ्यांकअनुसार गतवर्षको चैतका तुलनामा अहिले कारोबार संख्या बढे पनि राजस्व घटेको छ । गत चैतमा ४९ हजार १ सय ५० संख्यामा घरजग्गा कारोबार हुँदा ४ अर्ब ५१ करोड रूपैयाँ राजस्व उठेको थियो ।

चैतमा ५० हजार २ सय ५२ संख्यामा घरजग्गा कारोबार हुँदा राजस्व ३ अर्ब ९५ करोड रुपैयाँ मात्र राजस्व उठेको छ ।

राष्ट्र बैंकले घरजग्गा कारोबारबाट आर्थिक प्रगति नहुने निष्कर्ष निकाल्दै यसबाट अर्थतन्त्र दीर्घकालमा समस्या पर्ने भन्दै २ करोडसम्मको कर्जामा आफ्नो मासिक आम्दानीको ५० प्रतिशत रकमबराबर मात्र किस्ता हुनेगरी ऋण लिन सकिने प्रावधान बनाएको छ ।

त्यस्तै, ५० लाख रुपैयाँसम्म कर्जा लिनेको हकमा ६० प्रतिशतसम्म कर्जा लिन सकिने प्रावधान बनाएको छ ।

यही प्रावधानले गर्दा जग्गाको कारोबार हुन नसकेको ठम्याइ घरजग्गा व्यवसायीको रहेको छ ।

उनीहरूले बैंकबाट ऋण लिन समस्या भएको भन्दै कर्जा र आम्दानीको अनुपात ८० प्रतिशत पु¥याउनुपर्ने माग गर्दै आएका छन् ।

यसबाट सर्वसाधारणको कर्जा लिने क्षमता बढ्ने र आफूहरूले प्लानिङ गरिरहेको घरजग्गा कारोबार बढ्ने निष्कर्ष उनीहरूको छ ।

विभागका अनुसार गतवर्ष चैतमा देशभर ४९ हजार १ सय ५० वटा लिखत पारित भएकोमा यसपटक भने ५० हजार २ सय ५२ पुगेको छ । सो कारोबारबाट गतवर्ष चैतमा ४ अर्ब ५१ करोड रुपैयाँ राजस्व संकलन भएको थियो । यसपालि भने घटेर ३ अर्ब ९४ करोड रुपैयाँमा सीमित भएको छ ।

विभागका अनुसार पुँजीगत लाभकर मात्र १ अर्ब ४७ करोड रहेको छ । त्यस्तै, रजिस्ट्रेसन दस्तुरबापत् २ अर्ब ५० करोड र सेवा कर शीर्षकमा ३१ करोड ५२ लाख संकलन भएको छ ।

कुल राजस्व संकलनमध्ये भूमिसुधार तथा मालपोत कार्यालय लगनखेलबाट सबैभन्दा धेरै संकलन भएको छ । मालपोत कार्यालय लगनखेलबाट चैत महिनामा ३९ करोड ६२ लाख रुपैयाँ राजस्व संकलन भएको छ । त्यसैगरी, भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुरबाट २७ करोड ६७ लाख, मालपोत कार्यालय कलंकीबाट २५ करोड ७६ लाख, भूमिसुधार तथा मालपोत कार्यालय डिल्लीबजारबाट २४ करोड ५९ लाख र मालपोत कार्यालय चावहिलबाट २३ करोड ३१ लाख रुपैयाँ बढी राजस्व संकलन भएको छ ।

विभागका अनुसार चालू आर्थिक वर्षको चैत महिनामा सबैभन्दा धेरै कारोबार भूमिसुधार तथा मालपोत कार्यालय इनरुवा, सुनसरीबाट भएको छ । सो कार्यालयबाट २०८२ वटा लिखत पारित भएकोे छ । त्यस्तै, भूमिसुधार तथा मालपोत कार्यालय भद्रपुर, जनकपुरधाम, बेलवारी, राजविराज, मलंगवा, सिराहा, जलेश्वर, लाहान र लगनखेलबाट पनि १ हजारभन्दा धेरै कारोबार भएको छ । विभागले चैत महिनामा ५८ हजार १ सय ८७ कित्तालाई कित्ताकाट गरेर १ लाख ३१ हजार ५ सय ५८ कित्ता बनाइएको जनाएको छ । चैतमा ५ हजार ८ सय ८६ वटा नामसारी भएको छ । फागुन महिनामा ५ हजार ६ सय ९९ वटा नामसारी भएको थियो । आजको राजधानी दैनिकमा यो समाचार छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री