मंगलबार, १८ वैशाख २०८१

भारतद्वारा सङ्खुवासभामा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको शिलान्यास

समयपोष्ट २०८० चैत २६ गते १७:५२

Advertisement

भारत सरकारको आर्थिक सहयोगमा सङ्खुवासभाको चिचिला गाउँपालिका–३ मा निर्माण हुने दिदिङ आधारभूत विद्यालयको  भवनको शिलान्यास भएको छ ।

नेपाल–भारत विकास सहकार्य अन्तर्गत भारत सरकारको नेरु. ४.०२९ करोड आर्थिक सहयोगमा निर्माण हुने उक्त विद्यालयको विद्यालय भवनको भारतीय राजदूतावास, काठमाडौंका प्रथम सचिव अविनाश कुमार सिंह र चिचिला गाउँपालिकाका अध्यक्ष पासाङ नुर्बु शेर्पाले एक समारोहकाबीच शिलान्यास गर्नुभएको हो । उक्त कार्यक्रममा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी, समाजसेवी, विद्यालय व्यवस्थापनका प्रतिनिधि, शिक्षक÷शिक्षिका, अभिभावक तथा विद्यार्थीहरुको पनि उपस्थिति रहेको थियो ।

‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गतको भारत सरकारको अनुदान सहयोग यस विद्यालयलाई आवश्यक अन्य सुविधासँगै दुई तल्ले शैक्षिक तथा प्रशासनिक भवनको निर्माणमा उपयोग गरिनेछ । भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौता अन्तर्गत यस परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अघि बढाइनेछ र सङ्खुवासभाको चिचिला गाउँपालिकामार्फत कार्यान्वयन गरिनेछ । यो परियोजना भारत र नेपालबीचको बलियो विकास साझेदारीको एक महत्वपूर्ण दृष्टान्तको रुपमा रहेको छ ।

कार्यक्रममा बोल्दै चिचिला गाउँपालिकाका अध्यक्षले प्राथमिकताका क्षेत्रमा नेपाली जनताको उन्नतिका लागि भारत सरकारले पुर्याउदै आएको निरन्तर विकास सहयोगको प्रशंसा गर्नुभयो ।

सङ्खुवासभाको चिचिला गाउँपालिकास्थित श्री दिदिङ आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि गुणस्तरिय शिक्षा प्रदान गर्न विद्यालयको नयाँ भवन उपयोगी हुनुका साथै यसले सिकाइका लागि राम्रो वातावरण सिर्जना गर्नेछ । साथै यस क्षेत्रको शिक्षाको विकासमा पनि योगदान पुर्याउनेछ ।

सन् २००३ यता नेपालका विभिन्न क्षेत्रमा ५५० वटा भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाइएका छन् र ४८८ वटा परियोजना सम्पन्न भइसकेका छन् । यी मध्ये कोशी प्रदेशका विभिन्न क्षेत्रमा ८५ वटा परियोजना रहेका छन् जसमा २ वटा परियोजना सङ्खुवासभामा छन् । यसका साथै भारत सरकारले स्वतन्त्रता दिवस र गणतन्त्र दिवसको अवसरमा नेपालका विभिन्न अस्पताल, स्वास्थ्य चौकी र शैक्षिक संस्थालाई ९७४ वटा एम्बुलेन्स र २३४ वटा स्कुल बस उपहारस्वरुप प्रदान गरिसकेको छ जसमध्ये कोशी प्रदेशलाई १४१ वटा एम्बुलेन्स र ३५ वटा स्कुल बस उपहारस्वरुप प्रदान गरिएको छ । यसमा १३ वटा एम्बुलेन्स र ३ वटा स्कुल बस सङ्खुवासभा जिल्लालाई उपलब्ध गराइएको छ ।

‘नजिकको छिमेकी भएको नाताले भारत र नेपालबीच व्यापक र बहुक्षेत्रीय सहकार्य रहेको छ ।’ भारतीय राजदूतावास काठमाडौंद्धारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ-‘यस परियोजनाको कार्यान्वयनले नेपाली जनताको समुन्नतिका लागि र प्राथमिकताका क्षेत्र विशेष गरी नेपालको शैक्षिक क्षेत्रमा पूर्वाधारको विस्तारका लागि नेपाल सरकारले चालेका प्रयासमा भारत सरकार सदैव हातेमालो गर्न तयार रहेको कुरालाई प्रतिबिम्बित गरेको छ ।’

प्रतिक्रिया

सम्बन्धित सामाग्री