बिहीबार, १५ चैत २०८०

प्रधानमन्त्री ओलीको भारत भ्रमण ऐतिहाँसिक हुनुपर्ने केही कारण छैन : महत

समयपोष्ट २०७४ चैत २६ गते ९:५०

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्वपरराष्ट्रमन्त्री डा. रामशरण महतले प्रधानमन्त्री केपी शर्मा ओलीको तीन दिने भारत भ्रमण सफल र फलदायी भएको बताएका छन् ।

Advertisement

सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै नेता महतले नेपालका कुनैपनि प्रधानमन्त्रीहरुको भारत भ्रमण अहिलेसम्म असफल नभएको समेत स्पष्ट पारे । उनले थपे,‘अहिलेसम्म कुनैपनि प्रधानमन्त्रीको भ्रमण असफल भएको छैन, उहाँको भ्रमणपनि सद्भावपूर्ण भ्रमण थियो, सफल भएको छ, दुई देशबीचको सम्बन्ध सुधारमा महत्वपूर्ण भूमिका खेलेको छ, भ्रमण फलदायी र उपलब्धिमूलक भएको कांग्रेसको निश्कर्ष छ।’ प्रधानमन्त्रीको भारत भ्रमणलाई असफल भन्न नमिल्ने उनको जिकिर छ।

महतले भारतीय प्रधानमन्त्रीहरुको नेपाल भ्रमणपनि अहिलेसम्म असफल नभएको जिकिर गरे । उनले भने,‘प्रधानमन्त्री ओलीजीको भारत भ्रमण सफल भयो, तर ऐतिहाँसिक हुनुपर्ने केही कारण छैन।’ नेपालको संविधान जारी गर्दा नेपाल–भारतबीच रहेको असमझदारीलाई स्वयम् भारतले पनि रियलाईजेशन गरेकोले भारत नेपालसँग सम्बन्ध सुधार गर्न ईच्छुक रहेको उनको भनाई थियो ।

प्रधानमन्त्री ओलीलाई विमानस्थलमा बरिष्ठ मन्त्रीले स्वागत गर्नु, पन्तनगरमा विद्यावारिधिको उपाधि दिनु र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग ‘वान–टु–वान’ भेटवार्ता हुनु नै राम्रो कुरा भएको उनको तर्क थियो । यद्धपी उनले भारत भ्रमणमा जानुपुर्व परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीसँगको छलफलमा आफूले भारतसँग ठोस कुरा उठाउन सुझाव दिएको सुनाए । उनले थपे,‘रेल आउने कुरा राम्रो हो, तर भाषण गरेरमात्रै हुँदैन नि, यसको लागि लगानी कति लाग्छ, रेल ल्याउँदा अनुदानमा बनाउने हो कि ऋणमा बनाउने हो, यी कुराको बारेमा टुँगो त लगाउनुपर्छ, रेल ल्याउनेबारे विस्तृत अध्ययन बाँकी नै छ।’

रेल आउनु राम्रो कुरा भएको उनको टिप्पणी थियो । तर, यो कसले बनाईदिने भन्ने कुरा एकिन नभएकोमा चिन्ता व्यक्त गरे । उनले भने,‘भारतले बनाईदिने भए त खुशीको कुरा हो, रेल आएपछि फाईदा के/कस्तो हुने हो ? त्यो पनि थाहा हुनुपर्यो नि।’

हरेक प्रस्तावहरुको गम्भिरतापूर्वक छलफल गर्न जरुरी रहेको उनको भनाई थियो । उनले भने,‘प्राविधिक तथा आर्थिक पक्षबारे छलफल गर्न जरुरी छ, फाईदा तथा बेफाईदा हेर्नुपर्छ, भविष्यमा यसले कस्तो प्रतिफल दिन्छ त्यो पनि हेर्नुपर्छ।’

त्यस्तै जलमार्ग बनाउने कुरा पनि आजभन्दा करिब ४० वर्षदेखि छलफल भैरहेको बताउँदै महतले भने,‘भाषणले यस्तो गर्छु भनेर मात्रै हुँदैन नि।’ नेपाल र भारतबीच झण्डै ५/६ खर्बको व्यापार घाटा रहेको सुनाउँदै उनले भने,‘हाम्रो निर्यात कम छ, व्यापार घाटा डरलाग्दो छ, नेपालका उत्पादनहरु जस्तो अदुवा लगायतका वस्तुहरु निर्यात गर्न धेरै बन्धनहरु छन्, यसबारेमा कुरा गर्नुपर्दथ्यो, बाणिज्य सन्धि भएको भए राम्रो हुन्थ्यो।’

त्यस्तै हवाई रुट र बाणिज्यसम्बन्धी सन्धि भएको भए नेपालको अर्थ व्यवस्थामा ठोस उपलब्धि गराउनेथियो भन्दै उनले त्यो हुन नसक्नु दुःखद् भएको गुनासो पोखे ।

वर्तमान सरकारले ल्याएको श्वेतपत्रले निराशा ल्याएको उनको आरोप थियो । उनले भने,‘श्वेतपत्रमा अर्थतन्त्रलाई अन्धकार देखाईएको छ, तर अहिले ढुकुटी रित्तिएको अवस्था छैन नि, ढुकुटी रिक्तियो भन्नु गलत हो, पछिल्लो वर्ष यता देशमा ६२ प्रतिशतले राजश्व बृद्धि भएको छ, सार्क मुलुकमै नेपालजति राजश्व उठाउने अरु कुनै देश छैन्।’

नेपालको अहिले वैदेशिक निर्भरता घटेको पनि महतले सुनाए । उनले भने,‘यो त सवल पक्ष हो, यसबारे श्वेतपत्रमा कुनै कुरा उल्लेख गरिएको छैन्, मुलुकको अर्थतन्त्रलाई गलत देखाईएको छ, यो चिन्ताको विषय हो।’ मुलुक संघीय सरंचनामा गएसँगै वित्तिय हिसाबले धेरै चूनौतिपूर्ण अवस्था रहेको कुरा आफूले धेरै पहिलेदेखि नै बोल्दै आएको उनको भनाई थियो । उनले भने,‘अब सरकारले फजुल खर्च नियन्त्रण गर्नुपर्छ, अनुत्पादक खर्च गर्नुहुँदैन्, प्रतिफल दिने कुरामामात्रै लगानी गर्नुपर्छ।’

यसअघिका सरकारहरुले उपभोग्य वस्तुमा खर्च गर्ने गरेको उनको आरोप थियो । बजेटमै नभएका योजनाको लागि बजेट छुट्याउनु दुःखद् भएको पनि उनले गुनासो पोखे । महतले भने,‘गलत प्रकृतिका खर्चहरु नियन्त्रण गर्नुपर्छ, मन्त्रालयमा कर्मचारी घटाउनुपर्छ।’ पछिल्लो समय २००० प्रतिशतले कर बढाएको कुराले जनतालाई बोझ बढाएको पनि उनले आरोप लगाए ।

त्यस्तै उनले मुलुकमा तीन तहको संघीय संरचना बनेसँगै कसले के काम गर्ने भन्ने जिम्मेवारी नै थाहा नभएको पनि बताए । उनले थपे,‘हामी अझैपनि संक्रमणकालिन अवस्थामै छौं, व्यवहार र कार्यान्वयनको हिसाबाले हामी संक्रमणकालमा छौं।’ उनले सरकारलाई भाषणभन्दापनि काममा ध्यान दिन सुझाव दिए ।

नेता महतले कांग्रेसभित्र कुनै भाँडभैलो नभएको जिकिर गरे । उनले भने,‘केन्द्रिय कार्यसमिति बैठकमा नेताहरु आ–आफ्नो धारणा राखिरहनुभएको छ, यो कार्यसमिति बैठकले पार्टीलाई स्पष्ट दिशानिर्देश गर्छ, पार्टीभित्र अब गुटको राजनीति अन्त्य भयो, बरु नेतृत्वको कमजोरीबारे अहिले चर्चा भैरहेको छ, पार्टीलाई सबल ढंगले अघि बढाउनेबारे बहस भैरहेको छ।’ उनले कार्यसमितिले महासमिति बैठकको मिति तोक्ने र उक्त महासमितिले अर्ली महाधिवेशनबारे अन्तिम निर्णय लिने जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री