शुक्रबार, १४ वैशाख २०८१

सञ्चार मन्त्रालयः परिणाम आउने गरी काम गर्न निर्देशन

समयपोष्ट २०७४ चैत २१ गते १२:१५

सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले परिणाम आउने गरी जनताका पक्षमा काम गर्न सम्बद्ध निकायका प्रमुखलाई दिर्नेशन दिनुभएको छ ।

Advertisement

मन्त्रालयस्तरीय समस्या समाधान समितिको आजको बैठकमा राज्यमन्त्री बाँस्कोटाले कम खर्चमा जनतालाई सुविधा हुने गरी तीव्र गतिमा काम गर्न निर्देशन दिँदै भन्नुभयो,“यस आर्थिक वर्षको बाँकी चार महिनामा केही न केही नयाँ काम गर्नुपर्छ, दीर्घकालीन योजना ल्याउनुहोस्, मन्त्रालय सहयोग गर्न तयार छ । ” राज्यमन्त्री बाँस्कोटाले बेजिङ, नयाँ दिल्ली, ब्रसेल्स र न्यूयोर्कमा राष्ट्रिय समाचार समिति(रासस)का समाचारदाता राख्नेतर्फ मन्त्रालयले योजना बनाएको जानकारी दिनुभयो ।

प्रेस काउन्सिल नेपाल, रासस, गोरखापत्र संस्थान, रेडियो नेपाल, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल टेलिभिजन, राष्ट्रिय सूचना आयोग, सूचना विभाग, मुद्रण विभाग, चलचित्रलगायत मन्त्रालय सम्बद्ध निकायका प्रमुखले आआफ्नो विभागको प्रगति विवरण र समस्याका बारेमा प्रस्तुति दिनुभएको थियो । बैठकमा मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले सही कामका लागि बजेट खर्च गर्नुपर्नेमा जोड दिनुभयो ।

राससका अध्यक्ष कुलचन्द्र वाग्लेले पाँच प्रदेशमा आफ्नै भवनसहितको राससको प्रदेश कार्यालय स्थापना गरिए पनि बाँकी दुई प्रदेशमा भवनसहित कार्यालय स्थापना गर्ने योजना रहेको बताउनुभयो । पोखरामा प्रादेशिक भवन निर्माण गर्न र श्रव्यदृश्य सेवा स्थापना गर्न बजेटको अभाव रहेको पनि अध्यक्ष वाग्लेले अवगत गराउनुभयो ।
पत्रकारको न्यूनतम पारिश्रमिक व्यवस्था प्रभावकारी कार्यान्वयन भए नभएका बारे अनुगमन भइरहेको मन्त्रालयले जनाएको छ । आर्थिक वर्ष २०७४÷०७५ (फागुनसम्म) मन्त्रालयले करीब सात अर्ब ५३ करोड राजस्व संकलन गरेको छ । मन्त्रालयका अनुसार देशभरी हालसम्म १२३ टेलिभिजनले इजाजत लिएका छन् भने ३५ नियमित प्रसारणमा छन् । त्यसैगरी ८५७ एफएम (सामुदायिक रेडियो)ले इजाजत लिएका छन् भने ६२६ नियमित प्रसारणमा छन् ।
रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री