मंगलबार, ६ चैत २०८०

एमाले बैठक : पार्टी विरोधी गतिविधि गर्ने नेतालाई थप स्पष्टीकरण सोध्ने निर्णय

समयपोष्ट २०७८ वैशाख ६ गते २०:३४

Advertisement

नेकपा (एमाले) को आज सम्पन्न दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको पहिलो बैठकले पार्टी गतिविधि विरुद्ध लाग्ने थप आठ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा भएको बैठकले कर्णाली प्रदेशसभामा पार्टीको औपचारिक ह्वीप उल्लङ्घन गरी मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका पक्षमा मतदान गर्ने र त्यसमा नेतृत्वदायी भूमिका खेल्ने प्रदेशसभाका प्रकाश ज्वालासहित चार सदस्य र यसअघि निलम्बनमा परेका नेताहरु माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाललगायतलाई दुई दिनभित्र जवाफ माग्ने गरी स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । बैठकले आयोजक कमिटीका सदस्यको कार्यविभाजन र विभागीय जिम्मेवारी तोक्ने कामका लागि विष्णु पौडेल, शङ्कर पोखरेल र टोपबहादुर रायमाझी रहेको कार्यदललाई जिम्मा दिएको सो पार्टीका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिनुभयो ।

बैठकमा अध्यक्ष ओलीले ३२ पृष्ठ लामो राजनीतिक प्रतिवेदन र महासचिव ईश्वर पोखरेलले साङ्गठनिक प्रतिवेदन पेश गर्नुभएको थियो । वर्तमान राजनीतिक परिस्थितिको समीक्षा गरिएको अध्यक्ष ओलीको प्रतिवेदनमा सर्वाेच्च अदालतबाट प्रतिनिधिसभा पुनःस्थापना भए पनि यसले मुलुकको विद्यमान समस्याहरुको समाधान गर्ने सम्भावना कम रहेकाले राजनीतिक स्थायित्वका लागि छिटो निर्वाचनमा जानुपर्ने विकल्प उपयुक्त हुने उल्लेख गरिएको छ । नेकपा एकताको तीनवर्षे अवधि र सर्वाेच्च अदालतको फैसलाबाट एमालेले आउँदो साउनमा विधान सम्मेलन गर्नेछ भने मङ्सिरमा महाधिवेशन तोकेको छ ।

छलफलपछि पारित प्रतिवेदनमा पार्टीको वैचारिक र सङ्गठनात्मक काम र जनआधारित कामलाई गति दिँदै एमालेलाई देशको नेतृत्वदायी सङ्गठनका रुपमा अघि बढाउने, समृद्धिको अभियान प्रभावकारी बनाउन तीनै तहका सरकारलाई सक्रिय तुल्याउने र जनताका चाहना तथा आवश्यकतालाई सम्बोधनका क्रममा गर्नुपर्ने कामको समीक्षा गरेर अघि बढ्ने उल्लेख छ । प्रवक्ता ज्ञवालीका अनुसार अध्यक्ष ओलीको प्रतिवेदनमा मुलुक कुनै पनि बेला निर्वाचनमा जान सक्ने भएकाले तयार रहन कार्यकर्ता पङ्तिलाई तयार रहन निर्देश गरिएको र पार्टी विरोधी गतिविधिमा लागेकालाई एकताको भावनाका साथ आत्मालोचनासहित मूलधारमा फर्कन आह्वान गरिएको जनाइएको छ ।

बैठकले महासचिव पोखरेलद्वारा प्रस्तुत पार्टीको संगठनात्मक कामलाई व्यवस्थित गर्न आउँदो जेठ मसान्तभित्र सबै तहका कमिटीको पुनःगठन, असारभित्र सङ्गठित सदस्यता, भदौमा वडा तहदेखि पालिका तहसम्मको अधिवेशन र असोजमा प्रदेश अधिवेशन गरी मङ्सिरमा महाधिवेशन गर्ने कार्यतालिकासहितको साङ्गठनिक प्रतिवेदन पारित गरेको छ ।

आजको बैठकमा २०७७ फागुन २३ पछि केन्द्रीय सदस्यहरु विष्णु रिजाल, तिलकुमार मेन्याङ्वो, सोम मिश्रलगायत पहिलोपल्ट उपस्थित हुनुभएको थियो ।
आयोजक कमिटीको अर्काे बैठक यही वैशाख १० गते बस्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री