कोभिड-१९ रोकथाम तथा नियन्त्रणमा खटिएका कर्मचारीलाई १० लाखको बीमा, ३ महिनाको विद्युत महशुुल वडा कार्यालयले तिरिदिने
बैतडीको डिलाशैनी गाउँपालिकाले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणमा खटिएका कर्मचारीको कोरोनाका कारण मृत्यु भएमा परिवारको नजिकको सदस्यले पाउने गरी रु १० लाखको बीमा गर्ने निर्णय गरेको छ । आश्रित परिवारका सदस्यलाई सजिलो होस् भनेर यस्तो निर्णय भएको गाउँपालिकाका प्रवक्ता अक्कलबहादुर रानाले बताउनुभयो ।
कार्यपालिका बैठकले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागिरु ५० लाखको राहत कोष स्थापना गर्ने निर्णय पनि गरेको छ । सो कोषमा गाउँपालिका अन्तर्गतका कर्मचारीहरुको १० दिनको तलब कट्टा गरी जम्मा गर्ने, लकडाउन अवधिभर जनप्रतिनिधिले पाउने सेवा सुविधा सबै सो कोषमा राख्ने निर्णय समेत भएको प्रवक्ता रानाले जानकारी दिनुभयो ।
यसैगरी स्वास्थ्यकर्मीहरुलाई शतप्रतिशत थप भत्ता दिने, सहयोगी भूमिकामा रहेर काम गर्ने कर्मचारीहरुलाई २५ प्रतिशत थप भत्ता दिने निर्णय पनि भएको छ ।
पुर्चौंडी नगरपालिकाले लकडाउनका कारण छाक टार्न मुस्किल भएका परिवारलाई राहत वितरण कार्य शुरु गरेको छ । प्रति परिवार रु दुई हजारको राहत वितरण गर्ने कार्य प्रत्येक वडामा सञ्चालन भएको नगरपालिकाका प्रवक्ता दलबहादुर धामीले जानकारी दिनुभयो ।
र्यापिड टेस्ट शुरु
जिल्लामा क्वारेन्टाइनमा बसेका नागरिकको आजदेखि ¥यापिड डाइग्नोस्टिक टेस्ट शुरु भएको छ । शनिबार टेस्ट भएका सबै ठाउँका नागरिकको रिपोट नेगेटिभ आएको स्वास्थ्य कार्यालय बैतडीका जनस्वास्थ्य अधिकृत भुवनप्रसाद जोशीले जानकारी दिनुभयो ।
क्वारेन्टाइनमा बसेका १०४ जना र सीमा प्रहरीचौकी झुलाघाटमा खटिएका १३ जना प्रहरी र्यापीड डाइग्नोस्टिक टेस्ट गर्दा सबैको रिपोट नेगेटिभ आएको हो । थ्रोट स्वाब सङ्कलन नभएका पालिकाहरुमा क्वारेन्टाइनमा बसेका नागरिकको ¥यापिड डाइग्नोस्टिक टेस्ट शुरु भएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिनुभयो । क्वारेन्टाइनमा बसेका मध्ये सुर्नया गाउँपालिकाका ३२ जना, दोगडाकेदार गाउँपालिका २० जना, डिलाशैनी गाउँपालिकामा १६ जना,सिगास गाउँपालिका १७ जना र दशरथचन्द नगरपालिकाका १९ जनाको टेस्ट गरिएको हो ।
प्रहरी जवान आइसोलेसनमा
भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाटमा कार्यरत एक प्रहरी जवानलाई आइसोलेसनमा भर्ना गरिएको छ । दार्चुला घर भएका प्रहरी जवान सीमा प्रहरीचौकी झुलाघाटमा कार्यरत थिए । ती जवानलाई ज्वरो आउनाका साथै पखाला र टाउको दुख्ने समस्या देखिएपछि आइसोलेसनमा भर्ना गरिएको जिल्ला अस्पताल बैतडीका प्रमुख डा. वसन्तराज जोशीले जानकारी दिनुभयो । ती जवानको थ्रोट स्वाब सङ्कलन गरेर परीक्षणका लागि सेती प्रादेशिक अस्पताल धनगढी पठाइएको अस्पतालले जनाएको छ ।
बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले महाकाली नदीमा ट्युबमा तरेर आउन क्रम नरोकिँदा कोरोना सङ्क्रमणको जोखिम बढ्दो भएको र अवैध नेपाल प्रवेश रोक्न सीमाक्षेत्रमा सशस्त्र प्रहरी परिचालन गरिएको जानकारी दिनुभयो ।
विद्युुत महशुुल वडा कार्यालयले तिरिदिर्ने
बैतडीको दोगडाकेदार गाउँपालिका वडा नं ४ का सम्पूर्ण दलित र गैह्रदलित समुदायका विपन्न परिवारको ३ महिनाको विद्युत महशुुल वडा कार्यालयले तिरिदिने भएको छ । वडा कार्यसमितिको आउँदो वैशाख, जेठ र असारको विद्युत महशुल तिरिदिने निर्णय गरेको दोगडाकेदार ४ का वडाअध्यक्ष सुरेन्द्रप्रसाद भट्टले जानकारी दिनुुभयो ।
काँग्रेसको राहात
यसैबीच नेपाली काँग्रेस पुचौंडी नगरपालिका वडा नं ६ को वडा कार्यसमितिले क्वारेन्टाइनमा बसेका नागरिकलाई खाद्यान्न, सरसफाइका सामग्री र रिचार्ज कार्ड वितरण गरेको छ । भूमीराज मावि कफलढुङ्ग्रामा बसेका ७ जना र जनता आधारभूत विद्यालय रौनालीचौंडमा बसेका १० जनालाई चाउचाउ, चिउरा, कोलगेट, ब्रस र प्रति व्यक्ति ५० रुपैंयाको रिचार्ज वितरण गरेको काँग्रेसका वडा कार्यसमिति सचिव मोहन साउँदले बताउनुभयो । रासस
प्रतिक्रिया