नेशनल लाइफको १३.५ प्रतिशत बोनस पारित, चुक्तापूँजी ३ अर्ब नाध्ने

नेशनल लाइफ इन्स्योरेन्सको चुक्तापूँजी ३ अर्ब ७४ लाख ४० हजार पुग्ने भएको छ । कम्पनीले शुक्रवार प्रस्तावित १३.५ प्रतिशत बोनसको प्रस्ताव पारित गरेको छ । हाल रू. २ अर्ब ६४ करोड ९७ लाख २७ हजार चुक्तापूँजी रहेको कम्पनीको बोनस पश्चात ३ अर्ब रूपैयाँभन्दा बढी पूँजी पुग्ने भएको हो ।
हाल १९ जीवन बीमा कम्पनी सञ्चालनमा रहे पनि पुराना ९ जीवन बीमा कम्पनीले रू. २ अर्ब चुक्तापूँजी पुर्याउनुपर्ने बीमा समितिको निर्देशन छ । नयाँ जीवन बीमा कम्पनीहरुले पनि साधारण शेयर जारी गरी तोके बमोजिम पूँजी पुर्याउने शर्तमा कारोबार सञ्चालनको स्वीकृति पाएका हुन् । धेरैजसो जीवन बीमा कम्पनीको तोके बमोजिम पूँजी नपुगिरहेको अवस्थामा नेशनल लाइफले भने तोेकेभन्दा बढी पूँजी पुर्याएको छ ।
कम्पनीले शुक्रवार ३० औं वार्षिक साधारण सभा सम्पन्न गरी १३.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि रू. १ करोड ८८ लाख २७ हजार १० नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । यो सभाले कम्पनीको आर्थिक वर्ष २०७३/७४ अर्थात अघिल्लो आर्थिक वर्षको वार्षिक लेखा परीक्षण प्रतिवेदनलाई पारित गरेको छ ।
बीमा समितिले तोके बमोजिम चुक्तापूँजी पुर्याईसकेको यस कम्पनीले आगामी दिनमा शाखा कार्यालय विस्तार गरी थप सुविधा प्रदान गर्ने योजना रहेको कम्पनीका प्रेमा राज्यलक्ष्मी सिंहले जानकारी गराएकी छिन् ।
उनले आगामी दिनमा लगानीमा विविधिकरण गर्दै दीर्घकालिन लगानीलाई प्राथमिकता दिई कम्पनीको प्रतिफल वृद्धि गर्नेतर्फ प्रयासरत रहेको बताईन् । नेपाली बीमा बजारमा थप अद्यावधिक बीमालेखहरु प्रवेश गराउन र आफ्ना ग्राहकहरुलाई प्रदान गर्ने सेवाको गुणस्तर बढाउनेतर्फ कम्पनीको ध्यान केन्द्रित रहेको अध्यक्ष सिंहले प्रष्ट पारिन् ।
हाल कम्पनीले केन्द्रिय कार्यालय र ११५ ओटा शाखा कार्यालयबाट बीमा सेवा प्रदान गरिरहेको छ । चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा कम्पनीले रू. १७ करोड ११ लाख ८७ हजार खुद नाफा आर्जन गरेको छ । सो अवधिसम्म कम्पनीमा ७ लाख १४३ बीमालेख कायम रहेको थियो भने रू. ३ अर्ब ८ करोड ३० लाख ७४ हजार कुल बीमाशूल्क आर्जन गरेको थियो ।




























प्रतिक्रिया