
नेपाल बीमा प्राधिकरणले हिल्टन होटलको पुनर्बिमा प्रकरणमा कानुन विपरीत काम गरेको ठहर गर्दै चार संस्थालाई कारबाही गरेको छ।
प्राधिकरणले नेपाल पुनर्बिमा कम्पनीका सीईओ सुरेन्द्र थापालाई बीमा ऐन, २०७९ बमोजिम कारबाही गरेको छ। यस्तै, हिमालयन रि–इन्स्योरेन्स कम्पनी र ओरियन्टल इन्स्योरेन्स कम्पनीलाई दुई–दुई लाख रुपैयाँ जरिवाना तोकेको छ भने एलियण्ट इन्स्योरेन्स ब्रोकर्स प्रालिको लाइसेन्स तीन महिना निलम्बन गर्ने निर्णय गरेको छ।
प्राधिकरणकी प्रवक्ता पुजन ढुंगेल अधिकारीका अनुसार, कम्पनीहरूलाई कारबाहीको जानकारी पत्र पठाइसकिएको छ।
गत भदौ २३–२४ मा जेन–जी आन्दोलनका क्रममा नक्सालस्थित हिल्टन होटलमा आगजनी तथा तोडफोड हुँदा करिब ६ अर्ब रुपैयाँ बराबरको बीमा दाबी परेको थियो। नियमअनुसार ‘हुलदंगा तथा आतंकवाद’ जोखिमको पुनर्बिमा नेपाल पुनर्बिमा कम्पनी (नेपाल रि) मा मात्र गर्नुपर्ने प्रावधान छ। तर, ओरियन्टल इन्स्योरेन्सले एलियण्ट ब्रोकरमार्फत उक्त जोखिमको प्रिमियम निजी क्षेत्रको हिमालयन रिलाई तिरेको थियो।
दाबी परेपछि हिमालयन रिलाई बचाउन दायित्व नेपाल रिमा सार्ने प्रयास भएको प्राधिकरणको छानबिनले देखाएको छ। नेपाल रिका सीईओले सुरुमा पुनर्बिमा अस्वीकार गरी निजी कम्पनीलाई फाइदा पुर्याएको र क्षति भएपछि सरकारी कम्पनीलाई भार पार्ने प्रपञ्च रचेको निष्कर्ष निकालिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशनमा गठित छानबिन समितिको प्रतिवेदन र स्पष्टीकरण चित्तबुझ्दो नभएपछि यो कारबाही गरिएको हो।










प्रतिक्रिया