
सानिगाड हाइड्रो लिमिटेडले चैत ८ गतेदेखि प्रारम्भिक सार्वजनिक निष्काशन अर्थात् आईपीओ खुला गर्ने भएको छ। यो निष्काशन मुख्य रूपमा माथिल्लो कालंगागाड जलविद्युत आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि लक्षित रहेको छ।
कम्पनीको कुल जारी पूँजी २ अर्ब ८५ करोड रुपैयाँ रहेकोमा यसको ३० प्रतिशत अर्थात् ८५ करोड ५० लाख रुपैयाँ बराबरको ८५ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त भएको छ। जसमध्ये २८ लाख ५० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि छुट्याइएको छ। यसमध्ये १८ लाख ५२ हजार ५०० कित्ता अति प्रभावित क्षेत्र अर्थात् सुदूरपश्चिम प्रदेशको बझाङ जिल्ला अन्तर्गत बुंगल नगरपालिकाका वडा नम्बर १, २ र ४ का बासिन्दाहरूमा बाँडफाँट गरिनेछ भने बाँकी ९ लाख ९७ हजार ५०० कित्ता बुंगल नगरपालिकाका वडा नम्बर ३, ५, ६, ७, ९, १० र ११ का बासिन्दाहरूमा वितरण गरिनेछ।
यसैगरी सर्वसाधारण लगानीकर्ताका लागि छुट्याइएको शेयरको १० प्रतिशत अर्थात् ५ लाख ७० हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको छ। यो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। स्थानीय बासिन्दाका लागि निष्काशन अवधि छिटोमा चैत २२ गतेसम्म र ढिलोमा २०८३ वैशाख ७ गतेसम्म रहनेछ भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छिटोमा चैत ११ गतेसम्म र ढिलोमा चैत २२ गतेसम्म रहनेछ।
स्थानीय बासिन्दाले लक्ष्मी सनराइज बैंकको चैनपुर शाखा, ग्लोबल आइएमई बैंक, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकको बझाङ शाखा कार्यालय तथा पावर हाउस विरावगर र बुंगलबाट आवेदन दिन सक्नेछन्। आवेदन फाराम प्राप्त गर्न २ रुपैयाँ शुल्क लाग्नेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले भने नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाका शाखाबाट सी–आश्वा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।
कम्पनीले सञ्चालनमा ल्याएको ३८.४६ मेगावाट क्षमताको माथिल्लो कालंगागाड जलविद्युत आयोजनाको कुल लागत ८ अर्ब ६८ करोड ७० लाख रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत २२ करोड ५८ लाख रुपैयाँ छ। आयोजनाको विद्युत उत्पादन अनुमतिपत्रमा २५ वर्ष ३ महिना अवधि बाँकी रहेको छ। लगानी फिर्ता हुने अवधि साधारण आधारमा ८.२५ वर्ष र डिस्काउन्टेड आधारमा १४.६९ वर्ष रहेको छ।
इक्रा नेपालले कम्पनीलाई इक्रएनपी इस्यूअर रेटिङ डबल बी माइनस प्रदान गरेको छ जसले दायित्व बहन गर्ने क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्छ। यो आईपीओको निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ।








प्रतिक्रिया