ओलीले भने-मध्यपूर्वको तनावले रातभर निदाउन सकिन

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मध्यपूर्वमा जारी मिसाइल आक्रमण र युद्धको तनावप्रति गहिरो चिन्ता व्यक्त गर्दै नेपालमा कुनै पनि रूपमा यस्तो धुवाँ र संकट नआओस् भन्ने कामना गरेका छन्।

Advertisement

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् कि मध्यपूर्वका देशहरूमा बर्सिरहेका मिसाइलहरूको धुवाँ र दृश्यले आफूलाई रातभरि निद्रा नलागेको र बेचैनी भएको बताएका छन्।

ओलीले भनेका छन्, “मध्यपूर्वमा भएका लाखौं नेपालीहरू आपत् र कोलाहलमा छन्। तिनका परिवारले यहाँ पलपल छटपटाएर बस्नुपरेको छ।” उनले विश्वव्यापीकरणको युगमा नागरिकहरूको आवतजावत स्वाभाविक भएको उल्लेख गर्दै युद्ध र भूराजनीतिक स्वार्थलाई अस्वाभाविक तथा खतरनाक बताए।

Advertisement

“ती देशहरू पनि पक्कै युद्ध चाहँदैनथे। तर शक्तिको स्वार्थ घुसेपछि विवश हुनुपर्ने,” उनको भनाइ छ। ओलीले नेपालले सौभाग्यवश अहिलेसम्म मिसाइलको धुवाँ भोग्नु नपरेको उल्लेख गर्दै प्रार्थना गरे, “कुनै पनि आवरणमा त्यो आउन नसकोस्। आज तपाईंहरूलाई छटपटी भइरहँदा म निदाउन सकिनँ। बेचैन छु।”

यसैगरी, उनले सबैलाई सजगता, धैर्यता, विवेक र साहस अपनाउन आह्वान गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री