सिटिटेकको गेटपे प्लेटफर्ममा माछापुच्छ्रे बैंक र एनसीएचएलको सफल सहकार्य
सिटिटेक ग्रुप प्रा. लि. ले नेपालको पहिलो “एकीकृत भुक्तानी संयोजन प्रणाली तथा व्यवसायी व्यवस्थापन सफ्टवेयर” “गेटपे” को सफल शुभारम्भ गरेको छ। नेपाल क्लियरिङ हाउस लिमिटेड (NCHL) सँगको सहकार्यमा माछापुच्छ्रे बैंक लिमिटेड (MBL) मा यो प्रणाली लागू गरिएको हो, जसलाई नेपालको डिजिटल भुक्तानी क्षेत्रमा ऐतिहासिक उपलब्धिको रूपमा लिइएको छ।
सिटिटेक ग्रुपले डिजिटल भुक्तानी प्रणालीमा नवीन परिवर्तन ल्याउने संस्थाको रूपमा आफ्नो पहिचान बनाइसकेको छ। यसअघि फिन-प्रो (finPRO) र फिन-पस (finPOS) जस्ता सफ्टवेयरमार्फत बजारमा प्रभुत्व जमाइसकेको सिटिटेकले अब “गेटपे” मार्फत बैंक तथा वित्तीय संस्थाहरूलाई एकीकृत भुक्तानी प्रणाली प्रदान गरेको छ। यो प्लेटफर्मले भुक्तानी संरचनालाई सरल बनाउने, व्यवसायी व्यवस्थापनमा सहजता ल्याउने र नयाँ भुक्तानी माध्यमहरूलाई छोटो समयमा एकीकृत गर्ने क्षमता राख्छ।
गेटपेले व्यवसायीहरूलाई सबै कारोबार एकै ठाउँबाट अनुगमन गर्ने सुविधा प्रदान गर्छ भने फरक-फरक भुक्तानी प्रणालीलाई एकीकृत रूपमा समायोजन गर्छ। वास्तविक समयमा कारोबार सम्पन्न गर्ने आधुनिक प्रविधिको प्रयोगले यो प्लेटफर्मलाई कार्यकुशल, लागत-प्रभावी र डिजिटलमैत्री बनाएको छ। धेरै भुक्तानी माध्यममा एकै पटक पहुँच स्थापना गर्न सक्ने यो प्रणालीले जटिल भुक्तानी प्रक्रियालाई सहज बनाउँदै प्रयोगकर्तालाई छिटो, सजिलो र भरपर्दो सेवा प्रदान गर्छ।
माछापुच्छ्रे बैंकले गेटपेलाई आफ्नो दैनिक सञ्चालनमा सफलतापूर्वक समावेश गरेको छ। बैंकको डिजिटल बैंकिङ टिमका अनुसार, “गेटपेको माध्यमबाट हामीले व्यवसायीसँग सम्बन्धित सबै कारोबार र भुक्तानी एकै ठाउँबाट हेर्न सक्ने सुविधा पाएका छौँ। यसले हाम्रो कार्यकुशलता बढाएको छ भने ग्राहकलाई प्रदान गरिने सेवालाई थप सरल र प्रभावकारी बनाएको छ।” गेटपे अब बैंकको भुक्तानी प्रणालीको अभिन्न अंग बनेको छ।
नेपाल क्लियरिङ हाउस लिमिटेडका प्रतिनिधिले यो साझेदारीमा सहभागी हुन पाएकोमा उत्साह व्यक्त गर्दै भने, “गेटपेले बलियो एकीकृत भुक्तानी पूर्वाधार निर्माण गरी नेपाललाई अन्तरराष्ट्रिय फिनटेक बजारमा नयाँ उचाइमा पुर्याउने विश्वास लिएका छौँ।” यो प्रणालीले बदलिँदो बजारको मागअनुसार सेवा प्रदान गर्न बैंकहरूलाई सहयोग गर्ने अपेक्षा गरिएको छ।
कार्यक्रममा सिटिटेक ग्रुपका प्रमुख कार्यकारी अधिकृत साजन शर्माले भने, “नेपाली बैंकहरूलाई एकीकृत भुक्तानी प्रणालीमा सशक्त बनाउने दिशामा हामीले ऐतिहासिक कदम चालेका छौँ। आगामी दिनमा नेपालका बैंक तथा वित्तीय संस्थाहरूको भुक्तानी व्यवस्थापन र सञ्चालनमा हाम्रो संस्थाको उल्लेखनीय योगदान रहनेछ भन्ने विश्वास छ।”
प्रतिक्रिया