मध्यभोटेकोशी जलविद्युत र खिम्ती–बाह्रबिसे प्रसारण लाइन एक महिनाभित्र सम्पन्न गर्न ताकेता
नेपाल विद्युत प्राधिकरणले आफ्नो सहायक कम्पनी चिलिमे जलविद्युत लिमिटेडको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माणाधीन मध्यभोटेकोशी जलविद्युत आयोजना र खिम्ती–बाह्रबिसे प्रसारण लाइनको निर्माण कार्य एक महिनाभित्र सम्पन्न गर्न आयोजना व्यवस्थापनलाई ताकेता गरेको छ।
१०२ मेगावाट जडित क्षमताको मध्यभोटेकोशी जलविद्युत आयोजनाबाट हिउँदयाममा ४० मेगावाटसम्म विद्युत् उत्पादन हुने अपेक्षा छ। हिउँदको विद्युत् माग व्यवस्थापनमा यो परिमाणको ठूलो महत्व रहेकाले प्राधिकरणले आयोजनालाई शीघ्र सञ्चालनमा ल्याउन जोड दिएको हो। विद्युत् उत्पादन सुरु गर्न संरचना र उपकरण परीक्षणका क्रममा सुरुङ चुहिएको पाइएपछि हाल त्यसको मर्मत र सुधार कार्य तीव्र गतिमा भइरहेको छ।
यसैबीच, मध्यभोटेकोशीबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न तामाकोशी–काठमाडौं ४०० केभी प्रसारण लाइनअन्तर्गत खिम्ती–बाह्रबिसे खण्डको निर्माण अन्तिम चरणमा पुगेको छ। यो खण्डमा सबै टावर ठडिसकेका छन् भने करिब एक किलोमिटर तार तान्ने काम बाँकी छ। तत्कालका लागि यो लाइनलाई २०० केभीमा सञ्चालन गरी मध्यभोटेकोशीको विद्युत् ग्रीडमा समाहित गर्ने योजना छ। यसका लागि नयाँ खिम्ती र बाह्रबिसे सबस्टेसनमा आवश्यक संरचना जडानको काम अगाडि बढेको छ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र चिलिमे जलविद्युत कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुभाष कुमार मिश्रसहितको टोलीले शनिबार प्रसारण लाइन र सबस्टेसनको अनुगमन गरेको छ। टोलीले खिम्ती–बाह्रबिसे खण्डमा भइरहेको तार तान्ने कामको निरीक्षण गर्दै बाँकी काम तत्काल सम्पन्न गर्न आयोजना व्यवस्थापन र निर्माण व्यवसायीलाई निर्देशन दिएको छ। सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका–२ चौकटामा जारी तार तान्ने कार्यको पनि अनुगमन गरिएको थियो।
“हिउँदको विद्युत् माग व्यवस्थापनमा ४० मेगावाटको पनि ठूलो भूमिका हुन्छ। यो संवेदनशील र अत्यावश्यक आयोजना भएकाले हामी आफैं फिल्डमा आएर अनुगमन गरेका हौं,” कार्यकारी निर्देशक घिसिङले भने। उनले निर्माण कार्यलाई गम्भीरतापूर्वक लिई आवश्यक समन्वय गरेर तीव्र गतिमा अगाडि बढाउन निर्देशन दिए।
मध्यभोटेकोशी आयोजनाको विद्युतगृहको स्वीचयार्डबाट बाह्रबिसे सबस्टेसन जोड्ने करिब चार किलोमिटर २२० केभी प्रसारण लाइनको निर्माण सम्पन्न भइसकेको छ। तामाकोशी तथा सुनकोशी नदी र तिनका सहायक खोलाहरूमा निर्माण भएका र हुने जलविद्युत आयोजनाहरूको विद्युत् प्रवाहका लागि यो प्रसारण लाइन महत्वपूर्ण मानिएको छ। बाह्रबिसे–लप्सीफेदी खण्डमा पर्ने १२२ टावरमध्ये २ वटाको मात्र निर्माण बाँकी छ भने बाह्रबिसेमा २२० केभी सबस्टेसनको निर्माण कार्य पनि सम्पन्न भइसकेको छ।
प्रतिक्रिया