आइतबार, २ कार्तिक २०८२

विश्व मिर्गौला दिवस: मिर्गौला स्वास्थ्यप्रति जनचेतना जगाउँदै प्रत्यारोपण केन्द्र

समयपोष्ट २०८१ फागुन २८ गते १०:४२

Advertisement

विश्व मिर्गौला दिवसको अवसरमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले विभिन्न कार्यक्रमहरूको आयोजना गरी यो विशेष दिनलाई भव्य रूपमा मनाएको छ। “मृर्गौला स्वास्थ्य वारे शुरुमै थाहा पाउँ” भन्ने मूल नाराका साथ आयोजित यी कार्यक्रमहरूले मिर्गौला रोगको रोकथाम, पहिचान र उपचारका उपायहरूप्रति जनचेतना फैलाउने लक्ष्य राखेका छन्।

दिवसको सुरुवात बिहान ७:३० बजे पाटनको ऐतिहासिक मंगलबजारबाट मिर्गौला पदयात्राबाट भएको छ। सयौं सहभागीहरूले यो पदयात्रामा भाग लिँदै मिर्गौला स्वास्थ्यको महत्व र रोगप्रति सचेतनाको सन्देश फैलाएका छन्। यो पदयात्राले मिर्गौला रोगबाट प्रभावित व्यक्तिहरूप्रति ऐक्यबद्धता जनाउनुका साथै स्वस्थ जीवनशैली अपनाउन प्रेरित गरेको छ।

यस्तै नेपाली सेनाको शारीरिक तालिम तथा खेलकुद केन्द्र, लगनखेलमा मैत्रीपूर्ण फुटबल खेल आयोजना गरिएको छ। यो खेलमा मिर्गौला प्रत्यारोपण गरेका व्यक्तिहरू र अंगदाताहरूको टोलीले चिकित्सक, स्वास्थ्यकर्मी, समाजसेवी, मन्त्री, राजनीतिज्ञ र स्वस्थ व्यक्तिहरूको टोलीसँग प्रतिस्पर्धा गरेको थियो। यो खेलले मिर्गौला प्रत्यारोपण गरेका व्यक्तिहरू पनि अन्य स्वस्थ व्यक्तिहरू सरह सक्रिय र सक्षम जीवन जिउन सक्छन् भन्ने सशक्त सन्देश प्रवाह गरेको छ। सहभागीहरूले यो पहलले समाजमा रहेको भ्रम चिर्न र प्रत्यारोपित व्यक्तिहरूप्रति सकारात्मक दृष्टिकोण विकास गर्न मद्दत गरेको बताए।

Advertisement

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले प्रख्यात गायक प्रकाश सपूतको नेतृत्वमा विविध सांगीतिक प्रस्तुति आयोजना गरेको छ। यो सांगीतिक कार्यक्रमले मनोरञ्जनका साथै मिर्गौला रोगप्रति सचेतना फैलाउने उद्देश्य बोकेको थियो। गायक सपूतले आफ्नो प्रस्तुतिमार्फत मिर्गौला स्वास्थ्यको संरक्षण र रोगबाट बच्न अपनाउनुपर्ने जीवनशैलीबारे दर्शकहरूलाई प्रेरित गरे।

विश्व स्वास्थ्य संगठनका अनुसार प्रत्येक १० जनामध्ये १ जनालाई मिर्गौला रोग लाग्ने गरेको तथ्यांक छ। विश्वभर मिर्गौला रोगको प्रकोप बढ्दो क्रममा रहेको परिप्रेक्ष्यमा यो दिवसले रोगको पहिचान, उपचार र रोकथामका उपायहरूबारे जनचेतना जगाउन महत्त्वपूर्ण भूमिका खेल्छ। नेपालमा पनि मिर्गौला रोगका बिरामीहरूको संख्या बढिरहेको छ, जसले गर्दा यस्ता सचेतनामूलक कार्यक्रमहरूको आवश्यकता झनै बढेको छ।

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका प्रमुख डा. पुकारचन्द्र श्रेष्ठले भने, “मिर्गौला प्रत्यारोपण गरेका व्यक्तिहरू पनि अन्य स्वस्थ व्यक्तिहरूजस्तै हरेक क्षेत्रमा सक्षम र सबल रूपमा कार्य गर्न सक्छन्। यो दिवसले यही सन्देशलाई समाजमा स्थापित गर्न मद्दत गर्छ।” उनले मिर्गौला रोगको प्रारम्भिक पहिचान र नियमित स्वास्थ्य जाँचको महत्त्वमाथि पनि जोड दिए।

प्रतिक्रिया

सम्बन्धित सामाग्री