शनिबार, १५ वैशाख २०८१

प्रत्येक वडामा बीमा कम्पनी पुग्नैपर्छ

समयपोष्ट २०८० चैत १५ गते ११:२०

Advertisement

विश्वसँगै नेपालको अर्थतन्त्र शिथिल अवस्थामा छ । आजको दिनमा बीमा क्षेत्रमा यसको असर कत्तिको देखापरेको छ ?

बीमा क्षेत्र वित्तीय क्षेत्र नै हो । त्यसको प्रभाव बीमामा पनि छ । मन्दी भनेको मानिससँग पैसा नहुनु हो । पैसा नहुनु भनेको खर्च गर्ने क्षमता नहुनु हो । तर, सबैतिर जति मन्दी छ भनिन्छ, बीमा क्षेत्रमा त्यति धेरै असर परेको छैन । समग्रमा अघिल्लो वर्षमा भन्दा चार प्रतिशत हाराहारीमा प्रिमियम बढेकै देखिन्छ । नयाँ आर्थिक वर्ष सुरु हुन अझ धेरै समय बाँकी छ । आशा गरौं, सोचेभन्दा राम्रो हुनेछ ।

समय परिवर्तन भएको छ । बीमाबारे मानिसको सचेतना बढेको छ । बीमासम्बन्धी स्थानीय र प्रदेशमा पनि जनचेतनामूलक कार्यक्रम चलाइरहेका छौं । त्यसको प्रभाव स्थानीय र प्रदेशमा पर्दै गएको छ । सरकारले बीमालाई आफ्नो बजेटमार्फत जब सम्बोधन गर्न थाल्छ, तब व्यवसाय ह्वात्तै बढ्नेछ ।

केही वर्षदेखि बीमा कम्पनीको पुँजी वृद्धि गरियो । कतिपय कम्पनी मर्जमा गए । यसपछि यो क्षेत्रमा जति उत्साह आउनुपथ्र्यो, आएकोे देखिँदैन । खास समस्या कहाँनिर हो ?

समस्या खासै छैन । मर्जपछि व्यवस्थापनमा केही समय लाग्छ नै । जस्तो कि शाखा सङ्ख्या घटाउनुपर्‍यो, कर्मचारीको व्यवस्थापन गर्नुपर्‍यो । कम्पनीको पुँजी बढिसकेको छ । उसको लगानीको क्षेत्र फराकिलो बनेको छ । विदेशी पुनर्बीमा कम्पनीले यो राम्रो कम्पनी हो भन्ने अवस्था निर्माण भएको छ । यो सकारात्मक पक्ष हो ।

तर, सोचे जति व्यवसाय अघि नबढ्नुमा भने केही पक्षले काम गरेको छ । मन्दीले पनि केही काम गरेको छ । यद्यपि, बीमाले दिइरहेको बोनस खासै घटेको छैन । बजार विस्तार हुनैपर्छ । दुई खालका वर्गलाई समेट्नुपर्छ बीमाले । एउटा पैसा भएको वर्ग र अर्को पैसा नभएको वर्ग । बीमाबारे बुझेको, पैसा पनि भएको तर अग्रसर नभएको एउटा वर्ग । पैसा नभएको, बुझ्न पनि धेरै नबुझेको तर अग्रसर भएको । हाम्रो जनचेतनाको मुख्य उद्देश्य यस्ता खालका मान्छेबीच पुग्नु हो । स्थानीय सरकारले प्रत्येक सेवाग्राहीलाई बीमासँग जोडिदिनुहोस् भन्ने हो । त्यसो भयो भने राजस्व पनि बढ्छ, व्यवसाय पनि बढ्छ । नेपालका अधिकांश जनसङ्ख्यालाई बीमामा आबद्ध गराउन सरकारले पहल गर्नैपर्छ ।

आजको दिनमा बढेको पुँजीअनुसार व्यवसाय बढेको देखिँदैन । अब कम्पनीहरू कसरी अगाडि बढ्नुपर्छ ?

पहिलो कुरा, कम्पनीले जुन पुँजी आर्जन गरेको छ, त्यसको लगानी कहाँ हो भन्नेमा प्रष्टता हुन जरुरी छ । अहिलेसम्म बैङ्कमा भर परेका थियौं । मुलुकका आर्थिक क्षेत्र जति छन्, यी एरियामा लगानी विस्तार गर्दै लैजानुपर्छ । उदाहरणका लागि पर्यटन, उद्योग, घरजग्गा, कृषिलगायतमा हुन सक्छ । यी भनेका लामो समयसम्म रिटर्न दिने क्षेत्र हुन् ।

कर्मचारीमा लगानी बढाउनुप¥यो । कर्मचारीको दक्षता वृद्धि गर्नुपर्‍यो । आईटीमा लगानी बढाउनुप¥यो । आईटीलाई व्यापक पार्न सकियो, सफ्टवेयर डेभलपमेन्ट गर्न सकियो भने आजको दिनमा प्रत्येक मानिसले दुई–चार रुपैयाँ ट्रान्सफर गर्न सक्छ । रिसर्चमा लगानी गर्नुप¥यो । इनोभेसनमा लगानी गर्नुप¥यो । शाखालाई चलायमान बनाउनुप¥यो । यसो गर्न सकियो भने पुँजी थुप्रिएर बस्दैन । लगानीका क्षेत्र बढ्दै जानेछन् ।

पुँजी वृद्धिसँगै लगानी पनि विभिन्न क्षेत्रमा हुनुपर्ने हो । तर, निर्जीवन बीमा मोटर बीमामा केन्द्रित देखिन्छन् । मोटरमा केन्द्रित हुनु भनेको सहरकेन्द्रित हुनु हो । आजसम्म गाउँमा सञ्चालित घरेलु उद्योग, कृषिमा केन्द्रित भएनन् भन्ने आम गुनासो सुनिन्छ । यसबारे यहाँको के भनाइ छ ?

अब सहरकेन्द्रित मात्रै भएर त चल्दैन । कृषिबीमा अलग कुरा हो । कृषिबीमा सरकारले दिएको अनुदानमा चल्ने हो । अहिले नै तीन अर्ब बढी भइसक्यो । सरकारले भुक्तानी गर्न सकेको छैन । यसमा सरकारले ध्यान दिनुपर्छ । सरकारले कृषिबीमाका लागि वडातहमै पैसा पठाउने व्यवस्था गर्नुपर्छ । कस्ता मानिसलाई बीमा दिने ? नीति स्पष्ट हुनुपर्छ । पहुँचका आधारमा बीमा पाउने परम्परा अन्त्य हुनुपर्छ ।

बीमा व्यवसाय अझै परम्परागत छ । कानुनले जे भनेको छ, त्यसमै सीमित भयौं । बीमा प्राधिरकणले तोकेको ठाउँमा बीमा कम्पनी पुग्नुपर्छ । कर्णालीमा बीमा गर्न जाऊ भन्यो भने आजको दिनमा पनि कम्पनीहरू गइरहेका छन् । प्रत्येक वडा, पालिकामा बीमा कम्पनी पुग्नैपर्छ । त्यसो हुन सकेन भने अब कठोर निर्णय गर्नुपर्छ ।

विदेशमा बीमा कम्पनीले ठूला–ठूला परियोजनामा लगानी गरेको देखिन्छ । तर, नेपालका बीमा कम्पनी बैङ्कमा फिक्स्ड डिपोजिट वा सेयरमा लगानी गरेर बसेका छन् । दीर्घकालीन लगानीका क्षेत्रमा जान केले रोकिरहेको छ ?

अहिले राम्रै लगानी भइरहेको छ । धेरैजसो हाइड्रोपावर, पर्यटन, अटोमा लगानी भएको छ । कारखानामा पनि लगानी छ । तर, जति लगानी हुनुपर्ने हो, त्यति हुन सकेको छैन । हामीले निर्देशिकामै भनेका छौं– सेयरमा लगानी गर तर सीमित गर । प्रमोटर सेयरमा लगानी गर । पैसाको सही प्रयोग भएको छैन । यो आर्थिक वर्षको अन्त्यसम्म अझ राम्रो होला भन्ने सोचेका छौं ।

बीमाका प्रोडक्ट पुरानै देखिन्छन् । जुन कम्पनी आए पनि पुरानै प्रोडक्टका पछि कुदेका छन् । नयाँ खालका प्रोडक्ट किन आउन सकिरहेका छैनन् ?

प्रोडक्ट लगानीको विषय हो । पश्चिममा चाहिने प्रोडक्ट पूर्वमा काम नलाग्न सक्छ । त्यसकारण भूगोल सुहाउँदो प्रोडक्ट ल्याउनैपर्छ । त्यहाँका जनताको क्रयक्षमता हेर्नुप¥यो । इनोभेसन चाहियो । लगानी गरेपछि फाइदा हुन्छ भन्ने मनोविज्ञान बढाउन सक्नुप¥यो । बीमा गरियो भने रिक्स कभर सजिलै हुन्छ भन्ने जनचेतना फैलाउन सक्नुपर्‍यो ।

लामो समयदेखि जलविद्युत् कम्पनीको बीमामा बीमा कम्पनीले बढी प्रिमियम लिए भनिरहेका छन् । यसको खास कारण के हो ?

केही समस्या छैन । इप्पानको कार्यसमितिसँग मेरो कुराकानी भएको छ । मैले भनेको छु– तपाईंहरुको माग के हो ? ल्याउनुहोस् । बीमा कम्पनीले आफ्नो रेटमा बीमा गर्छ । बीमा कम्पनीले पैसा खाएर उनीहरुको बीमा गरिदिएको छैन । उहाँहरुलाई महँगो परेको छ भन्ने लागेको छ भने घटाइदिने हो । बीमा कम्पनीले पुनःबीमा कम्पनीमार्फत क्षति पाउनैपर्छ । उहाँहरुसँग बसेर हल गर्ने हो । सम्पत्तिको सुरक्षा हुनुपर्छ । यो बीमा कम्पनी वा प्राधिकरणलाई गाली गरेर हल हुने विषय यो होइन ।

नेपालमा जम्मा दुईवटा मात्रै पुनर्बीमा कम्पनी छन् । तर, तिनले किन अपेक्षित व्यापार गर्न सकिरहेका छैनन् ?

हिमालय रिले व्यापार सुरु गरेको छ । दुईचोटि रेटिङ भइसक्यो । भारतबाट व्यापार ल्याउँदैछ । नेपाल पुनःबीमा कम्पनीको नेटवर्क ठूलो छ । तर, त्यहाँ व्यवस्थापनमा समस्या छ । त्यसकारण व्यवस्थापनमा सुधार गर्नसक्ने मानिसको आवश्यकता छ । त्यसो भयो भने व्यापारमा बढोत्तरी हुन्छ नै ।

बीमा प्राधिकरणमा तीन वर्ष बढी बिताइसक्नुभयो । नेपालको बीमा बजार कस्तो पाउनुभयो ?

हामी इनोभेसनमा नजाने, एक्चुरीमा लगानी नगर्ने, कर्मचारीको क्षमता वृद्धि नगर्ने । ती पाटा कमजोर रहे । दाबी भुक्तानी समयमा गर्नुपर्छ । त्यसो गरिएन भने कारबाहीको प्रक्रियामा लैजान्छौं । सर्भेयरले दाबी भुक्तानी गरिदेऊ भनेर दिएको डकुमेन्टमा कुनै कम्पनीले भुक्तानी गरेको पाइएन भने अब कारबाही तथा आर्थिक दण्ड दिन्छौं । कारबाही पनि अरुलाई होइन सीईओलाई गर्ने हो । हामीले चिनेको भनेको सीईओलाई नै हो । दाबी भुक्तानी समयमै गरिएको छ भने प्रचार गर्नुपर्‍यो । डकुमेन्ट नदिने तर दाबी दिएन भन्ने पनि छ । उनीहरुलाई पनि सचेत गराउँछौं । यसो भयो भने बीमा व्यवसायका समस्या बिस्तारै समाधान हुनेछन् । मानिस बीमाप्रति आकर्षित हुनेछन् । समग्र इण्डष्ट्री माथि जानेछ । समयबोध म्यागेजिनको फागुन अंकबाट ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री